कार्तिक २१ काठमाण्डौं ___ सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका ५ हजार ३ सय ३ वटा अति विपन्न परिवारलाई जनही १० हजार रुपैयाँ राहत वितरण गरेको छ। राससका अनुसार काभ्रेका स्थानीय तहहरूले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरेका हुन्।
विशेषगरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित अति विपन्न, असहाय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको हो।
प्रतिस्थापन बजेटमा घोषणा गरिएअनुसार हालै मात्र उक्त शीर्षकको राहत रकम वितरण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत गराई सरकारले राजपत्रमा प्रकाशन गरेको थियो।सोहीअनुसार देशभरका करिब ५ लाख वटा अति विपन्न परिवारलाई राहत वितरण भइरहेको हो। यसैअन्तर्गत काभ्रेपलाञ्चोकका ५ हजार ३ सय ३ परिवारलाई राहत वितरण गरिएको हो।
गत मंगलबार प्रकाशित राजपत्रमा उल्लेखअनुसार काभ्रेका बनेपा नगरका ५०९, धुलिखेलका ३३५, पनौतीका ४१७, पाँचखालका ४७१, नमोबुद्धका ४८४ र मण्डनदेउपुरका ५८७ तथा चौंरीदेउराली गाउँपालिकाका ४८२, भुम्लुका ४०७, तेमालका ४२२, बेथानचोकका २४०, रोशीका ४५०, महाभारतका २८८ र खानीखोला गाउँपालिकाका २११ परिवारलाई राहत रकम दिइएको हो।