कार्तिक १५ कञ्चनपुर___ भारतीय बाटो हुँदै अफगानी नागरिक भित्रिन सक्ने भन्दै कञ्चनपुरका नाकाहरुमा कडाइ गरिएको छ । गड्डाचौकी र गौरीफण्टा दुबै नाकामा भारतबाहेक तेस्रो मुलुकका नागरिक भित्रिन सक्ने भएकाले कडाइ गरिएको हो ।
सशस्त्र प्रहरीको झलारी स्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरका अनुसार अफगानी र रोहिंग्या शरणार्थी भित्रिने सक्ने भएकाले केही दिनदेखि कडाइ गरिएको हो । उनले भारतीय नागरिकको हकमा यसअघि नै पिसिआर परीक्षण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को अनलाइन फारम भर्नुपर्ने अपनवार्य गरिएको छ ।
गृह मन्त्रालयले भारतीय नागरिकका लागि पनि नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य गरेपनि मातहतका निकायमा निर्देशन आएको छैन । ‘स्वास्थ्य मापदण्ड पालना गरेर भारत्यीलाई आउने दिने भनिएको छ, त्यस अन्तरगतपनि परिचयपत्र स्वतः खुल्छ,’ उनले भने, ‘परिचयपत्रकै लागि छुट्टै निर्देशन केही आएको छैन । मुख्य नाकामा कडाइ गरिएपनि भित्रि नाकाहरुमा वारीपारी खेतबारीदेखि घाँस दाउरा आदीका लागि आउजाउ हुने गरेका कारण समस्या देखिएको छ ।