कैलालीमा असई र जवानको हत्या गर्ने ९ जनालाई जन्मकैद

कार्तिक १० धनगढी___ धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्यामा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ मध्ये ९ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको हो।

अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले न्यायाधीश जयानन्द पनेरुको इजलासले मंगलबार ९ जनालाई जन्मकैदको फैसला सुनाएको बताए। जन्मकैदको सजाउ पाउनेहरुमा धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय पंकु भनिने रोहित राना, सोही ठाउँका अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–१० का ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना छन्। हत्या आरोपमा पक्राउ परेका धनगढीका मटर व्यापारी राजिव गुप्ताले भने सफाइ पाएका छन्।

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक
उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेका थिए। प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ। गत वर्षको कात्तिक १ गते राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्जसमेत रहेका विक र प्रहरी जवान बेपत्ता भएका थिए। उनीहरुलाई राति १० बजे सम्पर्क गर्दासमेत फोन नलागेपछि बिहानसम्म प्रतीक्षा गर्दा नआएपछि खोजी गरिएको थियो।

असई गोविन्द विकको हत्यामा संलग्न गिरोह पक्राउ
खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक विकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो। घाँटीमा धारिलो हतियार प्रहार गरी बिभत्स हत्या गरेको अवस्थामा विक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो। विकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो। उनीहरु सवार बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल भने घटनास्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरीक्षक विकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्