कार्तिक ९ काठमाण्डौ___ निर्वाचन आयोगका पदाधिकारीले तीनै तहको चुनाव एकै पटक गर्न नमिल्ने बताएका छन्। संघ, प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्ने विषयमा चर्चा भइरहेका वेला आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो सुझाव दिएका हुन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा बालुवाटार पुगेका पदाधिकारीले कानून अनुसार एकै पटक चुनाव गर्न नमिल्ने धारणा राखेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
आयोगका पदाधिकारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “तीन तहको चुनाव एकै पटक गर्दा खर्च कम हुने, मतदाताले पटक पटक भोट खसाल्नु नपर्ने जस्ता फाइदा छन्। तर, कानून अनुसार एकै पटक चुनाव गर्न सम्भव छैन। आयोगले स्थानीय चुनाव आगामी ५ चैतभित्र गर्न सुझाव दिएको छ। २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको म्याद ५ जेठ २०७९ मा सकिंदै छ। त्यस्तै, आउँदो फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० सांसदको स्थानमा चुनाव गर्ने विषयमा पनि आयोगले प्रधानमन्त्री देउवासँग परामर्श गरेको छ।