कार्तिक ६ काठमाण्डौ___ नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका ‘भीष्मपितामह’का रुपमा परिचित डा शेषराज आचार्यको निधन भएको छ। ७८ वर्षीय डा आचार्यको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउसो निधन भएको हो। डा आचार्यलाई कोरोना संक्रमणपछि निमोनिया देखिएको थियो। निमोनियाले गम्भीर बनाएपछि डा आचार्यको आइसीयूमा उपचार भइरहेको थियो। तर उपचारकै क्रममा शुक्रबार निधन भएको हो। उनको शुक्रबार नै दाहसंस्कार गरिएको छ। २०२३ सालमा सरकारी सेवामा प्रवेश गरेका डा आचार्यले शुरुमा इन्चार्ज वैद्य पदबाट मेलम्ची आयुर्वेद औषधालयमा काम गरेका थिए। २०२६ सालमा अधिकृत सरहको पदमा काठमाडौंमा नै आए। अधिकृत कविराजको पद थियो त्यो। उनले नरदेवीमा अनुसन्धान गर्नुपथ्र्यो। २०२९ सालमा आयुर्वेद चिकित्सालयलाई त्रिभुवन विश्वविद्यालयले लियो। उनलाई सोधियो, त्रिवि रोज्ने कि नरदेवी। उनले नरदेवी रोजे। २०३० सालमा उनी पाल्पाको रामपुरस्थित औषधालय गएर काम गरे।
पाल्पामा दुई वर्ष बसेर काम गरेपछि उनी काठमाडौ फर्किए। बढुवाका लागि नम्बर पुगेन। त्यसपछि उदयपुर पुगे। ०४३ सालमा उनी सहायक सचिवमा बढुवा भए। त्यसको दुई वर्षपछि उपसचिव र आयुर्वेद विभागको कामु महानिर्देशक भए। २०५१ सालमा सहसचिव भए। उनले सहसचिवमा १४ वर्ष काम गरे। वैद्यखानामा पनि चार–पाँच महिना र केही समय मन्त्रालयमा काम गरे। बैद्यखाना विकास समिति बनेपछि राजनीतिक खिचलो सुरु भयो। उनलाई बैद्यखानाले लोभ्याउँन सकेन। उनी नरदेवी अस्पताल, आयुर्वेद विभाग हुँदै स्वास्थ्य मन्त्रालय नै आए। उनी आयुर्वेद विभागको महानिर्देशक भए। उनले जिल्लामा अधिकृत तहको दरबन्दी निर्माण गरे र जिल्लास्तरीय औषधालय बनाइदिए। आधुनिक चिकित्सालाई मात्र ‘महान्’ ठानेर आयुर्वेदलाई महत्व दिइएन। २०५० सालतिर संघर्ष गरेरै जिल्ला जिल्लामा आयुर्वेद अधिकृतको दरबन्दी बढाउने, आयुर्वेद अस्पताल बनाउने लगायतका काममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।
उनकै कार्यकालमा जिल्ला–जिल्लामा औषधालय बने। उनकै कार्यकालमा ६१ वटा जिल्ला औषधालय थपिएका थिए। नरदेवीमा दरबन्दी निकै कम थियो। उनकै पालामा नरदेवी अस्पताललाई ४, ८, १२, २५, ५० हुँदै १०० बेडको अस्पताल बनाइयो। उनकै नेतृत्वमा नरदेवीमा नयाँ भवन बन्यो। आयुर्वेद काउन्सिलले आयुर्वेद चिकित्सक दर्ता गर्न थाल्यो। नरदेवी अस्पताललाई आधुनिकीकरण गर्ने श्रेय पनि शेषराजलाई नै जान्छ। उनले सरकारी सेवामा ४१ वर्ष बिताए। २०६४ सालमा अवकाश पाउदा उनी स्वास्थ्य मन्त्रालयको सहसचिव थिए।