महिला टी-२० विश्वकपको एशिया छनोट मलेसियाबाट सरेर युएईमा हुने

कार्तिक ६ काठमाण्डौ___ महिला टी-२० विश्वकपको एशिया क्वालिफायर्स मलेसियाको सट्टा यूएईमा हुने पक्का भएको छ । प्रतियोगिता यूएईमा नोभेम्बर १८ देखि २९ तारिखसम्म हुने तय भएको हो । आठ टिमका सहभागिता रहेको प्रतियोगिताका लागि नेपाली टिम यतिबेला बन्द प्रशिक्षणमा रहेको छ । जसमा अन्तिम चरणमा २४ खेलाडी प्रशिक्षणमा रहेका छन । यो प्रतियोगिता यसअघि नोभेम्बरमा नै मलेसियामा हुने भनिएको थियो, तर मलेसियाले विभिन्न कारणले प्रतियोगिता गर्न नसक्ने बताएपछि यूएईमा सारिएको हो ।

 

प्रतियोगिता सुरुवातमा २०२१ को मे महिनामा हुने भनिएको भएपनि कोभिडका कारण सेप्टेम्बरमा सरेको थियो । तर अन्तिममा प्रतियोगिता हुने स्थल नै परिवर्तन भएर यूएईमा हुने भएको हो । प्रतियोगितामा नेपालसँगै भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र घरेलु टिम यूएई रहेका छन । जसका लागि हङकङले भने केरी चानको कप्तानीमा १४ खेलाडीको टिम घोषणा गरिसकेको छ । प्रतियोगितामा सबै खेल टी २० अन्तराष्ट्रिय मान्यता हुनेछन ।

 

जसमा भुटान र म्यानमारले पहिलो पटक महिला तर्फ आइसीसी इभेन्ट्समा सहभागिता जनाउनेछन ।प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले २०२२ मा हुने टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन । नेपाली टिमले यसपटक पनि ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य राखेको छ । अन्तिम पटक खेल्दा नेपाली टिम थाइल्याण्डसँग पराजित भएको थियो । जसका कारण नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सकेको थिएन ।

यहाँ कमेन्ट गर्नुहोस्