कार्तिक ५ वीरगंज___ वीरगंज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालसँग भेटघाट तथा छलफल गरेको
छ । समारोहमा वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो ।
उहाँले वीरगंज लगायत पर्सा–बारा क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नुभएको थियो । त्यस्तै उहाँले वीरगंज–पथलैया औद्योगिक मुलुककै ठूलो औद्योगिक कोरिडोर रहेकोले यस क्षेत्रमा रहेका उद्योगहरुको निरन्तर सञ्चालनको लागि विगतमा स्थापित औद्योगिक सुरक्षा बलको पुनस्थापनाको लागि पहल गरी प्रजिअ कटुवालसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रजिअ कृष्ण बहादुर कटुवालले बारा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित तुल्याउने तर्फ आपूले प्रभावकारी भूमिका निर्वहन गर्ने बताउनुभयो । शान्ति सुरक्षा कायम राख्न निजीक्षेत्रका साथै सर्वसाधारणको समेत भूमिका अपरिहार्य रहेकोले समन्वय र सहकार्यको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स., उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।