असोज १८ जनकपुरधाम___ डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश–२ मा भ्रष्टाचार बढ्दै गएको भन्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि जनता समाजवादी पार्टी अख्तियारविरुद्ध आन्दोलित रहेको समयमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन्।
सुरक्षाकर्मीहरु बाक्लो संख्यामा परिचालन गरिएका कारण जनमत पार्टीका कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालयको मूल गेटसम्म भने पुग्न पाएनन्। मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नारावाजी गर्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले मोटरसाइकल र्याली निकालेका थिए।
यसअघि आजै उनीहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन्। जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु विभिन्न माग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका थिए। तर उनीहरुलाई परिसरमा प्रवेश गर्न नदिइएपछि नारावाजी गर्दै नगरपालिकामा तोडफोड गरेका हुन्। प्रदर्शनकारीहरुले उपमहानगरपालिकामा जबरजस्ती प्रवेश गरेर न्यायिक समितिमा तोडफोड गर्नुका साथै नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन्।