पटका भण्डारण गर्ने कार्यमा संलग्‍न रहेको आरोपमा एकजना पक्राउ

असोज १७ काठमाडौं___ महानगरीय प्रहरी अपराध महाशाखाले अवैध रुपमा पटका, आतिसबाजी जन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्‍न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका-१ सर्लाही घर भइ हाल काठमाडौंको कागेश्‍वर बस्‍दै आएका ३० वर्षीय कामेश्‍वर प्रसाद यादव रहेका छन् ।

यादवले विभिन्‍न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा लुकाइ-छिपाइ पटाका, भुइचम्पा लगायतका आतिसवाजीजन्‍य विष्फोटक पदार्थहरु विजया दशमी तथा दीपावलीलाई लक्षित गरी भण्डारण गरेको प्रहरीको दाबी छ ।

उनको साथबाट प्रहरीले गमला पटाका २५ केजी तौल भएको १ बोरा, स्पेशल फ्लावरकोन पटाका४२० केजीको ११ कार्टुन्, हाइड्रो फोइल्स फटाका ५४ केजीको ३ कार्टुन, झ्यारझ्यारे पटाका १०९२ केजीको ९१ कार्टुन, रोल क्‍याम्पस पटाका १५ केजीको १ कार्टुन,ग्राउण्ड चक्र पटाका १२० केजीको ४ वटा कार्टुन, स्पाइनर पटाका ९६ केजीको ४ वटा कार्टुन, हाइड्रो बम पटाका ७५ केजीको ३ वटा कार्टुन, विभिन्‍न पटका मिसिएको १२० केजीको ६ वटा बोरा, नगद ९० हजार र एक थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धित कसुर अन्तर्गतको मुद्दामा आवश्‍यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्