प्रदेश २ मा तपाईँको मास्क खोइ ? अभियान

असोज १७ जनकपुरधाम___प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा कोरोना महामारीको सङ्ख्यामा कमी आएपछि सर्वसाधारणले मास्क लगाउन छाडेपछि कोरोनाको थप जोखिम बढेको भन्दै तपाईँको मास्क खोइ ? अभियानमा तीनै तहका सरकार सक्रिय भएका छन् । युनिसेफको सहयोगमा तीनै तहका सरकार मिलेर तपाईँको मास्क खोइ ? अभियानको प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाममा आजबाट सुरु भएको हो ।

चाडपर्वमा सबैतिर भिडभाड बढेको तर मास्क लगाउनेको सङ्ख्या घटेको भन्दै कोरोना सहितको सङ्क्रामक रोगबाट जोगिने उत्तम विकल्प नै मास्क लगाउनु भएकाले विशेष अभियान सुरु गरेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए । औद्योगिक नगरी बीरगन्जबाट सुरु भएको अभियानको निरन्तरता दिँदै आज जनकपुरधाममा र मङ्गलवार राजविराजमा सुरुवात गर्ने तयारीमा तीनै तहका सरकारहरू एक साथ जुटेको निर्देशक झाले बताए ।

जनकपुरधामको सबै चोकहरूमा विभिन्न संस्थाहरूको सहयोग एवं सहकार्यमा मास्क नलगाउनेलाई मास्क दिएर अनिवार्य रुपमा लगाउनका लागि उत्प्रेरित गर्ने काम भइरहेको मास्क अभियानमा सक्रिय लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो । आफूहरूको अभियान निरन्तर रहने बताउनुहुँदै अध्यक्ष ठाकुरले मास्क लगाउँदा कोरोना सहितका अन्य रोगहरूबाट जोगिने भएकाले संस्थाका स्वयंसेवीहरू विभिन्न चौक चौकमा मास्क वितरण गरिरहेको बताउनुभयो ।

 

यहाँ कमेन्ट गर्नुहोस्