असोज १० काठमाडौं___ असोज २६ गतेबाट नेपाली चलचित्र रिलिज हुने भएको छ । आज बसेको चलचित्रकर्मीहरुको बैठकले असोज २६ गतेबाट चलचित्र रिलिज गर्ने निर्णय गरेको हो । असोज २६ गते शोभित बस्नेतको ‘डाँडाको बरपीपल’ रिलिज हुने भएको छ । अन्य नेपाली चलचित्र भने दसैंमा रिलिज नहुने भएका छन् ।
सिनेमा रिलिजका लागि वितरक, प्रदर्शक र निर्माताबीच समन्वयका लागि गठन भएको चलचित्रकर्मीहरुको ११ सदस्यीय कमिटीले असोज २५ गते अंग्रेजी सिनेमा फाष्ट एन्ड फ्युरियस सिरिज रिलिज गर्ने निर्णय गरेको छ । उक्त कमिटीले तीन महिनाको प्रस्ताव अगाडि सारेको छ । जसअन्तरगत पहिलो हप्ता रिलिज हुने नेपाली सिनेमाका निर्मातालाई ५५ प्रतिशत र प्रदर्शकलाई ४५ प्रतिशत सेयर दिने निर्णय गरेको छ ।
दोस्रो हप्ताबाट चलचित्र चलुन्जेल ५० प्रतिशत सेयर निर्माताले पाउने वितरक करण श्रेष्ठले जानकारी दिए । “चलचित्र क्षेत्र चलायमान बनाउन हामीले यो निर्णय गरेका छौं । यसअघि सामान्य अवस्थामा पहिलो हप्ता ५०÷५० प्रतिशत सेयर हुन्थ्यो निर्माता र प्रदर्शकलाई । दोस्रो हप्ताबाट प्रदर्शकलाई ५५ र निर्मातालाई ४५ प्रतिशत हुन्थ्यो,” करण भन्छन्, “पुस २१ गतेसम्मका लागि हामीले यो निर्णय गरेका हौं ।” बीचमा प्रदर्शन भइरहेका तर लकडाउनका कारण प्रदर्शन रोकिएका चलचित्र पनि रिलिज हुने उनको भनाइ छ ।
मिनिमम ग्यारेन्टी माग गर्दै ठूला ब्यानरका चलचित्र भने पछि हटेका छन् । काठमाडौं उपत्यकामा ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्न प्रशासनले अनुमति दिइसकेको छ । तर, काठमाडौं बाहिरका धेरै ठाउँमा हल नखुलेका र ५० प्रतिशत अकुपेन्सीम सिनेमा रिलिज गर्न नसकिने भन्दै निर्माताहरुले मिनिमम ग्यारेन्टी माग गर्दै आएका छन् । तर, महंगो मिनिमम ग्यारेन्टी उपलब्ध गराउन नसकिने निर्णयमा हल सञ्चालक पुगेका छन् ।