जेठ १८ बाट आंशिक रुपमा भए पनि नियमित उडान खोल्नुपर्ने मन्त्रालयको निष्कर्ष

१२ जेठ काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १८ पछि आंशिक रुपमा नियमित उडान खोल्नुपर्ने बताएको छ । मन्त्रालयले नेपालमा रहेका विदेशी र विदेशमा रहेका नेपालीको लागि आंशिक उडान आवश्यक भएको मन्त्रालयको भनाइ छ ।

हाल नेपाल-भारत मात्र एयर बबल सम्झौता मार्फत हप्ताको दुई उडान भइरहेको छ। बुधबार र शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाले यात्रुसहितको उडान गर्दै आएका छन् ।

त्यसबाहेक नेपालमा भएका विदेशी लैजान चार्टर्ड उडान हुँदै आएका छन् । चार्टर्ड उडानमा नेपाली समेत विदेश जान पाउने मन्त्रालयले निर्णय गरेको छ । तर चार्टर्ड उडानमा बढी भाडा तिर्नुपर्ने हुँदा आंशिक रुपमै भए पनि नियमित उडान खोल्नुपर्ने मन्त्रालयले बताएको छ ।

‘मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणसहित अन्य निकायसँग दैनिकजसो छलफल गरिरहेको छ’, मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने, ‘हामी जेठ १८ बाट आंशिक रुपमा नियमित अन्तर्राष्ट्रिय उडान खोल्नुपर्नेमा सहमत छौँ ।’ उनले अन्तर्राष्ट्रिय उडान खोल्नेबारे मन्त्रालयभन्दा मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने बताए ।

‘सबै देशमा अहिले नै खोल्न नसकिएला तर कोरोनाको जोखिम कम भएका र बढी नेपाली आउजाउ गर्ने क्षेत्रमा उडान खोल्नुपर्छ’, सहसचिव लामिछानेले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले मन्त्रिपरिषले पनि मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म कहिले खुल्छ भन्न नसकिने बताए । सरकारले वैशाख २४ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै नेपालमा भएका विदेशी यतै रोकिएका छन् । वैदेशिक रोजगारीबाट विदामा आएका नेपाली समेत विदेश जान पाएका छैनन् ।

नेपालका विदेशस्थित विभिन्न राजदूतावासले अब नियमित उडान नखोले भिसा म्याद सकिएका, करार अवधि सकिएका नेपालीले दुःख पाउने बताउँदै आएका छन् । विभिन्न कारणले मृत्यु भएका नेपालीको शव उडान नियमित नहुँदा उतै रोकिएका छन्। विदेशस्थित राजदूतावासले नियमित उडान खोल्न सरकारलाई सुझाव दिँदै आएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्