१२ जेठ उदयपुर । सगरमाथा राजमार्गको फोक्सिङटारस्थित सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज मंगलवार देखि खोल्न शुरु गरिएको छ । वर्षा शुरु भए सँगै नदीमा पानीको बहाव बढेपछि उदयपुर र खोटाङ जोड्ने सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाउदा तराईका जिल्ला जोड्ने सिधा यातायात प्रभाबित बन्ने गरेको छ ।
हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरिएको अस्थायी बेलिब्रिज निकालिएसँगै गाईघाट दिक्तेल-बीचको सीधा यातायात सम्पर्क छ महीनाका लागि बन्द हुने भएको छ ।
गत मङ्सिर देखि सञ्चालनमा ल्याइएको खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज हिजो मंगलवार निकालिएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगर लगायतका शहर जाने छोटो बाटो बन्द भएको छ ।
फोक्सिङटारमा निर्माणाधिन पक्की पुलको ढिलाईले हरेक वर्ष हिउदमा वेलिव्रिज जोड्ने र वर्षाद शुरु भएपछि निकाल्ने गर्नुपर्दा वर्षेनी लाखौँ रकम खर्च हुने र जनताले पूर्ण यातायात सेवा लिन पाएका छैन्न । वेलिव्रिज निकाले पछि विकास निर्माण अलावा दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा समेत प्रभाव पर्ने गरेको छ । यो वर्ष रु. ८४ लाख वजेटमा रेग्मी निर्माण सेवाले वेलिव्रिज जडान तथा खोल्ने जिम्मा पाएको हो ।