प्रदेश २ मा लकडाउन लगाइएको समयमा स्थानीय तहले दिवा खाजाको नाममा करोडौँ खर्च गरे

भाद्र ५ जनकपुरधाम___ कोरोना महामारीका कारण नेपालमा लकडाउन लगाइएको समयमा स्थानीय तहले दिवा खाजाको नाममा करोडौँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा देशभरका ४१ वटा स्थानीय तहले विद्यालय बन्द रहेको समय दिवा खाजाको नाममा बजेट खर्च गरेको उल्लेख गरेको छ।

दिवा खाजाको नाउँमा रकम खर्च गर्नेमध्ये अधिकांश प्रदेश २ कै स्थानीय तह रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विद्यालय बन्द भएको अवस्थामा उक्त अवधिको खाजा रकम यकिन गरी असुल गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेबाट लकडाउन भई विद्यालय बन्द रहेको अवस्थामा धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख, रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख, गरुडा नगरपालिकाले ७७ लाखसमेत गरी २८ नगरपालिकाले ०७७ वैशाख, जेठ र असारमा वास्तविकता यकिन नगरी दोस्रो र तेस्रो चौमासिकको पूरै दिवा खाजा १४ करोड २१ लाख ६८ हजार ५८२ रुपैयाँ विद्यालयलाई निकासा गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, रौतहटको दुर्गा भगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार, सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ५९ लाख ८६ हजार, धनुषाको जनकनन्दिनी गाउँपालिकाले ५५ लाख ९६ हजार, सर्लाहीको कौडेना गाउँपालिकाले ५४ लाख ७२ हजार समेत १३ वटा गाउँपालिकाले १६६ वटा विद्यालयलाई २०७७ वैशाख, जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको ६ करोड ३ लाख ५६ हजार निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको हो।

त्यस्तै, रौतहटको एउटा स्थानीय तहले दिवा खाजाका लागि विद्यालयलाई रकम निकासा गर्दा व्यवस्था नै नभएको अवस्थामा अभिभावकलाई नगद वितरण गरेको प्रतिवेदनमा जनाइएको छ। परोहा नगरपालिकाले यस वर्ष अभिभावकलाई नगदै बुझाउने गरी दिवा खाजाबापत १ करोड १७ हजार निकासा गरेको अनियमित देखिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। अभिभावकले बुझेको रकमको भरपाई नरहेको प्रतिवेदनमा भनिएको छ। कोरोनाका कारण अधिकांश समय विद्यालय बन्द थिए। पछि विद्यालय खुले पनि कम उमेरका विद्यार्थीको कक्षा सञ्चालनमा आउन सकेको थिएन। रासस

यहाँ कमेन्ट गर्नुहोस्