असाढ़ १७ काठमाडौं__ सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारामा रहेको वर्षामापन केन्द्रमा बुधबार साँझदेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रमा सतर्कता अपनाउन नेपाल फ्ल्ड अलर्टले आग्रह गरेको छ ।
दुई हप्ता अगाडि मेलम्ची र इन्द्रावतीमा आएको बाढीले उक्त क्षेत्रमा ठूलो परिमाणमा जनधनको क्षति पुर्याएको थियो । नेपाल फ्ल्ड अलर्टले सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको भन्दै धनुषा, सिरहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा रहनेहरू आज रातिसम्मै सतर्क र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
सिन्धुलीको मरिनखोला कुसुन्तार बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकाले मरिन कुसुन्तार, वाग्मती राईगाउँ, पधेरादोभान लगायत बाढी मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले उक्त जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन नेपाल फ्ल्ड अलर्टले आग्रह गरेको छ ।
मनसुन सक्रिय भएपछि देशका अधिकांश भागमा पानी परिरहेको छ । लगातारको झरीका कारण पहाडमा भू–क्षय र तराईमा बाढीको जोखिम हुनेभन्दै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले पनि आग्रह गरेको छ ।