असाढ़ १३ एजेन्सी__ माफिया डनको जीवनमाथि बन्न लागेको बायोपिक ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ। याे फिल्मकाे छायांकन सुरु भएको डेढ वर्षपछि पूरा भएको हो। बिचमा कोरोना महामारीका कारण काम स्थगित भएको थियो। लकडाउनकै बेला भारी वर्षाका कारण फिल्म खिच्न बनाइएको सेट भत्किएपछि छायांकन प्रभावित भएको थियो।
सेट निर्माणपछि पनि मुख्य अभिनेत्री आलिया भाट, निर्देशक संजयलीला भंशालीसहित क्रुका केही सदस्यलाई काेराेना संक्रमण भएको थियो। त्यसपछि केही समयलाई पुन: काम स्थगित भएकाे थियाे। यता, हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित फिल्मले गंगूबाईको गोपनीयता र स्वतन्त्रता भङ्ग गर्न लागेको साथै आतमसम्मानमा चोट पुर्याएको आरोप लागेको थियाे।
गंगूबाईका धर्मपुत्र बाबुजी रावजी शाहले फिल्म निर्देशक, लेखक र अभिनेत्रीविरुद्ध मानहानीको आरोपसहित निवेदन दिएका थिए। उक्त विवाद मेलमिलापमा पुगेर टुंगियो। त्यस्तै भारतको महाराष्ट्र कांग्रेसका विधायक अमीन पटेलले फिल्मको नाम परिवर्तन गर्न दवाव दिएका थिए। फिल्मको नामले काठियावाड शहरको छवि बिगार्ने भन्दै उनले नाम परिवर्तन गर्न भनेका हुन्।