१० असार दिक्तेल । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यापालिका बैठकमा वडाध्यक्षहरुबीच कुर्सी हानाहान भएको छ ।
अदृष्य तरिकाले खर्च गर्न पाउनेगरी नगर प्रमुख दीपनारायण रिजालले मनोमानी रुपमा बजेट तयार गरेको भन्दै बैठकमा विवाद भएपछि वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राई र वडा नम्बर ८ बुवालुङका वडाध्यक्ष लीला चौहानबीच कुर्सी हानाहान भएको हो । बिनाशीर्षकको बजेट विनियोजन भएको भन्दै बैठकमा विवाद हुँदा कुर्सी हानाहान भएको वडाअध्यक्ष राईले बताउनु भयो।
नगरप्रमुख रिजालले आर्थिक वर्ष २०७८–७९ का लागि ८५ करोड ८ लाख ६२ हजारको बजेट तयार गरेका छन् । आगामी आर्थिक वर्ष २०७८–७९को बजेट तथा कार्यक्रमलाई अन्तिम रुप दिन बसेको बैठकमा नगरप्रमुख रिजालले ४ करोड ३१ लाख रुपैयाँ शीर्षकबिनै अदृष्य तरिकाले खर्च गर्न पाउनेगरी प्रस्ताव गरेका थिए । त्यस विषयमा विवाद बढेपछि नगर कार्यपालिकाको बैठक नै वडाध्यक्षहरुले बाहिस्कार गरेका छन् ।
विवादपछि नगरप्रमुख रिजालले समस्या समाधन गरेर लैजाने बताएका छन् । बिहीबार नगरपालिकाले बजेट तथा नीति र कार्यक्रम प्रस्तुत गर्दैछ । १५ वटा वडा रहेको यो नगरपालिकमा ७३ जना नगरसभा सदस्यमध्ये नेकपा एमालेका ३६ जना छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीका ३७ नगर सदस्य छन् ।