असाढ़ ८ काठमाडौं__ सत्तारूढ दल नेकपा (एमाले) ले मन्त्रिपरिषद् पुनर्गठन बदर हुनेगरी सर्वोच्च अदालतले दिएकाे अन्तरिम आदेशले देशलाई थप जटिलतातिर धकेल्ने प्रतिक्रिया दिएको छ । मंगलबार सर्वोच्चको आदेशपछि प्रारम्भिक प्रतिक्रिया जनाउँदै एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको निर्णय अप्रत्याशित भएको बताए ।
“सर्वोच्च अदालतको निर्णय अप्रत्याशित हो । यसले देशको राजनीतिलाई जटिलतातिर धकेल्ने मात्र नभएर दूरगामी प्रभावसमेत पार्छ,” उनले भने । ज्ञवालीले पार्टीकाे बैठक बसेर थप निर्णय गर्ने पनि जानकारी दिए ।
मंगलबार सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियाे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राना र न्यायाधीश डा. प्रकाश ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । योसँगै तत्कालका लागि उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २० मन्त्रीहरू पदमुक्त भएका छन् ।