ओलीले गलत काम गर्दाको परिणाम देश र जनताले भोगिरहेका छन्: माधव नेपाल

असाढ़ ८ काठमाडौं__ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट जोगाउन बामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने बताएका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले गलत काम गर्दाको परिणाम अहिले देश तथा जनताले भोगिरहेको पनि बताएका छन्।

‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो। तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन्,’ नेता नेपालले भनेका छन्।

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई पनि गन्तव्यमा नपुर्‍याउने पनि नेता नेपालले स्मरण गराएका छन्। ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्‍याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं,’ नेता नेपालले भनेका छन्।

राष्ट्रको गरिमा उचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सबै वामपन्थी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक पनि नेता नेपालले आह्वान गरेका छन्।

‘एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा उचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं। मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं,’ नेता नेपालले भनेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्