०४ असार काठमाण्डौं । पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने विद्रोही/बागीलाई क्रियाशील सदस्यताबाटै बञ्चित गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसले क्रियाशील सदस्यता वितरण/नविकरणमा कडाइ गरेको छ।
१४ औं महाधिवेशनको संघारमा कांग्रेसले जिल्ला कार्यसमितिमा परिपत्र गरेरै गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने भूमिका खेल्ने बागी, प्रस्तावक र समर्थकलाई क्रियाशील सदस्यता नै नदिन निर्देशन गरेको छ।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक समेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले बिहीबार गरेको परिपत्रमा पार्टीका उम्मेदवारविरूद्ध लागेकालाई क्रियाशील नवीकरण नगर्न निर्देशन दिएको हो। साथै अनुशासनको कारवाही गरिएकालाई पनि क्रियाशील सदस्यता नदिन कांग्रेसले मातहत निकायलाई निर्देशन गरेको छ।
यो नियम कार्यान्वयनमा आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेका गोविन्दराज जोशीले क्रियाशील सदस्यता नपाउने भएका छन् ।
यसअघि नै कांग्रेसले जोशीलाई ५ वर्षका लागि पार्टीबाट निकालेको थियो। त्यसबेला आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसले यस्तो कारवाही गरेकोमा पार्टीभित्रबाटै विरोध भएको थियो।
भीष्मराज आङ्देम्बे संयोजक रहेको अनुशासन समितिले जोशीको सदस्यता नै खारेज गरिदिएको थियो। २०७५ साउनमा बसेको समितिको बैठकले पूर्वसहमहामन्त्री जोशीलाई सदस्यबाट हटाएको थियो ।
यस्तै पूर्वराज्यमन्त्रीसमेत रहेका कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझालाई पनि पाँच वर्षका लागि सदस्यबाट हटाइएको थियो। ओझालाई पार्टी नेता आरजु राणा देउवालाई २०७४ को चुनावमा असहयोग गरेको आरोपमा निकालिएको हो।
जोशी र ओझासहित दुई सय ७९ जनाभन्दा बढीलाई कांग्रेसले यसबीचमा अनुशासनको कारवाही गरेको थियो । लामो समय कांग्रेसमा काम गरेका उनीहरूले गत चुनावमा खेलेको भूमिकाकै कारण अब भदौमा हुने १४ औं महाधिवेशनमा कुनै पनि सर्तमा सहभागी हुन नपाउने भएका छन् ।
क्रियाशील सदस्य रहेका कुनै व्यक्तिको क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएको भए विधान तथा नियमावलीअनुसार सदस्य नवीकरण हुन योग्य भए असार ९ गतेभित्र नवीकरण शुल्कसहित विवरण पठाउन जिल्ला कार्यसमितिलाई क्रियाशील छानविन समिति संयोजक लेखकले आग्रह गरेका छन् ।
क्रियाशील नवीकरणका लागि मापदण्डसमेत उल्लेख गरिएको छ।
पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध विद्रोही उम्मेदवार बनेको वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावकरसमर्थक बनेको, पार्टी अनुशासनको कारवाहीमा परेको र पार्टी परित्याग गरेकोले क्रियाशील नपाउने परिपत्रमा प्रष्ट खुलाइएको छ।
यो परिपत्र प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँरनगर र सबै वडा कार्यसमितिमा जानकारी गराइएको छ। यो परिपत्रअनुसार अब क्रियाशील नवीकरणका लागि कांग्रेसमा कडा नियम लागु भएको छ।
कांग्रेसले भदौ १६ देखि १९ सम्म हुने महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्यता बनाउने भनेको छ। जसअनुसार अहिलेसम्म ८ लाख क्रियाशीलको विवरण प्राप्त भइसकेको छ। यीमध्ये एक हजार एक सय हाराहारीमा मात्रै क्रियाशील सदस्यता विरूद्ध उजुरी परेका छन्।
लेखक नेतृत्वको छानविन समितिले आजदेखि यी उजुरीबारे छाविन गर्न लागेको जनाइएको छ। यो समितिलाई बिहीबार बसेको केन्द्रीय समितिले असार मसान्तभित्र क्रियाशीलको छानविन गरिसक्न निर्देशन पनि दिएको छ।
यो समयभित्रै क्रियाशील टुंगो लगाएर भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने कांग्रेसले जनाएको छ ।