०३ असार काठमाण्डौं । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ । जसमा संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिलाई सहज गर्ने भनिएको छ । जारी लकडाउनलाई यो साता कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्क गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुला गरिने निष्कर्ष समितिले निकालेको छ ।
प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएइ, जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले बैदेशिक रोजगारीमा रहेका र विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि कुल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनको खर्च सरकारले उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावस्श्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।
कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य पक्ष खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको र ती खोप आगामी साउनदेखि लगाउन थालिने बताए ।