०३ असार काठकाण्डौं । केही दिनदेखि देशभर परिरहेको वर्षा नरोकिने देखिएको छ । आज बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार अहिले पनि प्रदेश नं. १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज पनि दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षा र सुदूर पश्चिम, लुम्बिनी प्रदेशका केही बर्षा हुने सम्भावना छ।
यस्तै राति पनि प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षा हुनेछ भने देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
अझै केही दिन वर्षा जारी रहने भएकाले बाढी, पहिरो, डुबानको जोखिम रहेका स्थानका बासिन्दालाई सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
यस वर्ष मनसुन निकै शक्तिशाली भएकाले भित्रिनासाथ देशभर व्यापक वर्षा भइरहेको छ भने बाढी तथा पहिरोले मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधन क्षतिसमेत गराइसकेको छ।