असाढ़ १ सर्लाही __ सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ५ पडरिया गाउँमा विषाक्त दारु खाएर चार दिनमै ८ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा तीन भारतीय नागरिक रहेका छन् । भारतको सिमा क्षेत्रसँगै जोडिएको पडरिया गाउँमा संचालित स्थानीय देवराज कापरको भट्टी (पसल)मा विषाक्त घरेलु दारु खाएपछि उनीहरुको मृत्यू भएको आशंका गरिएको छ ।
त्यहाँ नै दारु खाएका इँटा उद्योगमा काम गर्ने भारतीय तीन मजदुर र स्थानीय पाँच जनाको मृत्यू भएको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले जानकारी दिए । उनका अनुसार दारु खाएर मजदुरीका लागि भारततर्फ जाँदै गर्दा २ जनाको भारतकै आगरा भन्ने ठाउँमा मृत्यु भएको छ । थप तीन जना स्थानीय बिरामी परेका छन् ।
उनीहरूको सदरमुकाम मलंगवामा उपचार भइरहेको छ । दारु बेच्ने देवराज कापर स्वयंम विरामी परेका छन् । चार दिनमा आठ जनाको मृत्यु भएपछि सोमवार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन डबल्यूएचओ बाट डा. किरण बास्तोला, जिल्ला अस्पताल मलंगवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले गाउँ गाउँको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा १३ जनाको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राउतले बताए । जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले दारु खाएकै कारण उनीहरुको मृत्यु भएको जानकारी आएपनि कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाण्डौंमा पठाउने तयारी गरिएको बताए ।
बिरामीहरुसँग पनि घटनाबारे थप सोधखोज जारी राखेको उनको भनाई छ । उता ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले मृत्यु भएका आठै जना र बिरामी परेका तीन जनाले विषाक्त दारु खाएको पाइएको जानकारी दिए । मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् । यस्तै भारतको उत्तर प्रदेश राज्यका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेका छन् ।