जसपाको महन्थ ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराउने मनस्थितिमा

जेष्ठ ३० काठमाण्डौ__ केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न नसकेपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराउने मनस्थितिमा पुगेको छ । निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा समाप्त भइसकेको छ ।

बहुमत सदस्यको नामावली पुर्याउन नसकेपछि नयाँ पार्टी बनाउने सोचमा पुगेको जसपाका एकजना कार्यकारिणी सदस्यले बताए । निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ ।

कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारीका साथ अगाडि बढेको ती नेताले बताए । अहिले बबरमहलस्थित पार्टी कार्यालयमा त्यही विषयमा आन्तरिक छलफल चलिरहेको छ ।

जति जना सदस्यको हस्ताक्षर छ, त्यति जनाको नाम आयोगमा बुझाइदिने या नयाँ पार्टी दर्ताका लागि निवेदन दिने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । यसका लागि कागजात तयारी गर्ने काम भइरहेको एक नेताले जानकारी दिए ।नयाँ पार्टीका लागि विधान र अन्य दस्तावेज बनाउने जिम्मेवारी डा.सुरेन्द्रकुमार झा र केशव झालाई दिइएकोमा दुबैले नयाँ पार्टीको विधानको मस्यौदा तयार गरेर दिइसकेका छन् ।

केशव झाले दुई अध्यक्षसहित विधान बनाएका छन् भने डा.सुरेन्द्र झाले एक अध्यक्षसहितको विधान बनाइएको स्रोतले बतायो । नयाँ पार्टीमा राजेन्द्र महतो र महन्थ ठाकुरसहित दुईजना अध्यक्ष रहने कि एकजना मात्रै अध्यक्ष रहने भन्ने टुंगो लाग्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्