पौष १५ काठमाडौं___ आज पौष १५ गते आइतवार गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पौषमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।
आजको दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेशभुषा तथा नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । भनिन्छ, गुरुङ समुदायले विगत २६०३ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेका छन्, तर कहिलेदेखि यो पर्व मनाउन थालियो भन्ने यकिन इतिहास छैन ।
हरेक वर्षको पौष १५ गते गुरुङको वर्ग/वर्ष फेरिन्छ। पौष १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन्। ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ । हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । यो चिनियाँ पात्रोमा आधारित हुन्छ ।
पौष १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हुँदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेका हुन् । नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् ।
कृषि बाली स्याहार्ने पर्वलाई ल्होसार पर्वमा रूपान्तरण गरियो, जसलाई तोला ल्होसार भनिन्छ । अहिले गुरुङले आफूले मनाउँदै आएको ल्होसारलाई तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । यो नामाकरण उनीहरूले गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ ।
ल्होसार कृषिसँग सम्बन्धित छ । तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर बुद्ध धर्म प्रवेश हुनु अगाडि भिन्न रूपमा ल्होसार मनाउने गरेको इतिहास पाइन्छ । तिब्बतमा किसानहरूले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व मनाउने गर्थे । पछि त्यही पर्वलाई ल्होसारमा रूपान्तरण गरियो । त्यस सन्दर्भमा यो पर्व किसानको पर्व हो, जसलाई तोला ल्होसार भनिन्छ ।
आजसम्म प्राप्त ऐतिहासिक स्रोत अनुसार, नेपालमा गुरुङको आगमन चीनबाट तिब्बत हुँदै ईसाको पहिलो शताब्दीतिर भएको देखिन्छ । त्यतिबेला गुरुङहरू बोन धर्ममार्गी अर्थात् प्रकृतिपूजक थिए । त्यति बेलैदेखि गुरुङहरूले पनि ल्होसार मनाउँदै आइरहेका थिए भन्ने अनुमान गरिन्छ ।