धार्मिक र सामाजिक सद्‍भाव कायम राख्दै पर्व मनाउ: मुख्यमन्त्री यादव

कार्तिक ४ महोत्तरी___धार्मिक एवं सामाजिक सद्‍भाव कायम राख्दै पर्व तिहार मनाउनुपर्नेमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले सबैमा आग्रह गरेका छन्। शनिबार गौशाला आएका मुख्यमन्त्री यादवले पत्रकारसँग कुराकानी गर्दै चाडपर्व मनाउने क्रममा कुनै पनि समुदाय वा व्यक्ति तथा धर्मलाई असर नपर्ने किसिमको सहज वातावरण निर्माण गर्नका लागि सबैमा अपिल गरेका छन्। उनले भने, ‘प्रदेश सरकारको तर्फबाट यस प्रदेशका पछिल्लो घटनालाई ध्यानमा राखेर शान्ति सुरक्षा कायम राख्नका लागि छलफलमार्फत आग्रह गरेको छु।

प्रहरी प्रशासनका उच्च पदस्थ अधिकारीहरूले पनि सामाजिक सद्‍भाव कायम हुने किसिमको वातावरण निर्माणका लागि सकारात्मक भएका छन्। दसैं तिहार मनाउने क्रममा आमनागरिकले ढुक्क भई मनाउने वातावरण सिर्जना हुनेछ। तर सामाजिक सद्‍भाव भड्किने किसिमको घटनामा संलग्न जो कोहीलाई कानुन अनुसारको कारबाही गरिनेछ। तसर्थ सदैव सचेत र सर्तक रहनु आवश्यक छ।’

एक प्रसंगमा मुख्यमन्त्री यादवले छठ पर्वमा बिदा दिनुपर्ने आवश्यकतामाथि गहन छलफल र बहसको जरुरी रहेको धारणा राखेका छन्। त्यसै पनि सरकारी कार्यालयमा अधिक बिदा भयो भनेर आलोचना आइरहेको समयमा छठ पर्वका सम्बन्धमा बिदा दिने निष्कर्षमा अहिले नै पुग्न नसकेको यादवले धारणा राखेका छन्।

 

यहाँ कमेन्ट गर्नुहोस्