इजरायल र हमासबिचको द्वन्द्वमा १० जना नेपालीको निधन

असोज २२ काठमाण्डौं ___इजरायल र हमासबिचको द्वन्द्वमा १० जना नेपालीको निधन भएको, चार जना घाइते अवस्थामा रहेको, दुई जना सुरक्षित रहेको र बाँकी एक जनाको अवस्था अज्ञात रहेको समाचार प्राप्त भएको छ । ती एक जनालाई हमासले अपहरण गरेको सम्भावना पनि छ ।इजरायलस्थित नेपाली दूतावासबाट प्राप्त जानकारी, परराष्ट्रमन्त्री एनपी साउदद्वारा संसदमा व्यक्त भनाइ, इजरायलका एनआरएन पूर्वअध्यक्ष दीपक ओलीबाट प्राप्त जानकारी र राजधानीका दोहा संवाददाता योगेन्द्र योगीले संकलन गरेको सूचनाका आधारमा यो समाचार सम्प्रेषण गरिएको हो ।

इजरायलमा हाल ४५ सय नेपाली केयरगिभरका रूपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २ सय ६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरू नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले संसदमा जानकारी दिए । मन्त्री साउदले आजै १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने जानकारी गराएका थिए ।

गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका सात जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै बताएका थिए । ‘सात जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अरू थप विवरण आएको छैन । हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौं,’ आइतबार दिउँसो ओलीले भने ।

उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिए पनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपाली बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागे पनि उनीहरूले समयमा उपचार पाएका थिएनन् ।

नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरूको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि, मृत्यु’bout दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १२ जना नेपाली अहिले आफूहरूको सम्पर्कमा नरहेको बताइन् ।

शनिबार घाइते भएका उनीहरूमध्ये केही आफूहरूको सम्पर्कमा आएर गोली लागेको बताए पनि अहिले भने कुनै सम्पर्क नभएकाले यसै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । त्यहाँ धेरै मानिस हताहत रहेकाले अवस्था भयावह रहेको भन्दै उनले अहिलेसम्म उद्धार हुन नसकेको बताइन् । उनका अनुसार घाइते तीन जना अस्तालमा भर्ना भएकामा एक जना चाहिँ डिस्चार्ज भएका छन् । त्यस्तै, दुई जना अहिलेसम्म बंकरभित्रै सकुसल रहेका छन् ।

उनीहरूलाई आइतबार कार्यरत कम्पनीले खानेकुरा लगेर दिएको जानकारी आएको रिजालले बताएकी थिइन् । यसबाहेक प्रमोद केसी, सल्यान र वीरेन्द्र चौधरी, कैलाली किबुज वा प्रहरीको सुरक्षामा सुरक्षित छन् भने विधान सैजवाल, प्रवीण डांगी, धनबहादुर चौधरी र हिमाञ्चल कट्टेल अस्पतालमा उपचाररत छन् । उनीहरूको स्वास्थ अवस्था खतरामुक्त छ । भीमदत्त कञ्चनपुरका विपिन जोशी भने अझै सम्पर्कविहीन छन् । उल्लेखित सूचनाको इजरायलस्थित नेपाली राजदूतले पुष्टि गरेकी छन् ।

थप नेपाली नागरिक हताहत भएको हुन सक्नेसमेत आशंका गरिँदै छ । यसैबिच दोस्रो दिन अर्थात् आइतबार पनि द्वन्द्व अझ गहिरिएको छ । इजरायलतर्फ झन्डै ६ सय नागरिकको मृत्यु भएको बताइएको छ । यो संख्यामा केही नेपाली र थाईजस्ता विदेशी नागरिक पनि पर्छन् । दक्षिण इजरायलको एउटा किबुजको डान्सर्पटी एरियामा मा मात्रै २ सय शव फेला परेको बताइन्छ । सयौं इजरायलीसहित केही विदेशीसमेत हमासको अपहरणमा परेको बताइएको छ ।

इजरायली सरकारले आइतबार औपचारिक रूपमै युद्धको घोषणा गरेको छ । हमासको यो आक्रमणलाई ९ र ११ आतंकी आक्रमणसँग तुलना गरिएको छ र प्रधानमन्त्री नेतन्याहुले हमास आतंककारीको समूल नष्ट गर्ने बताएका छन् । हमासका विरुद्ध गाजा क्षेत्रमा इजरायलले कडा प्रत्याक्रमण पनि सुरु गरेको छ । शनिबार साँझै गाजा क्षेत्रमा अवस्थित प्रसिद्ध प्यालेस्टाइन टावर हवाई आक्रमणबाट गिराइयो । प्रत्याक्रमणमा ४ सयको हाराहारीमा प्यालेस्टाइनी मारिएको समाचार छ ।

तर इजरायलका तर्फबाट सोचिएजस्तो स्तरको आक्रमण नभएको अनुभव गरिएको छ । उसले गाजा क्षेत्रमा छानिछानी ठाउँहरूलाई लक्षित आक्रमण गरेको छ । इजरायललाई बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगिएका सयौं आफ् ना नागरिकको चिन्ताले थोरै संयमित बनाएको देखिन्छ । अर्कोतर्फ इजरायली इलाकामा घुसपैठ गर्ने हमास आतंकवादी धपाउनु इजरायलको पहिलो प्राथमिकता रहेको देखिएको छ ।

गाजासँगको सीमावर्ती इलाका आक्रमणकारीबाट मुक्त गराउने क्रम तीव्र रूपमा जारी छ । यसैबिच इजरायलको उत्तरी इलाका लेबनानसँगको सीमाक्षेत्रबाट पनि सानितिनो रकेट आक्रमण भएको छ । लेबनानस्थित अर्को इजरायलविरोधी आतंकवादी समूह हिजबुल्लाले हमासको समर्थनमा सो आक्रमण गरेको बताइन्छ । इजरायलले पनि जवाफी कारबाही गरेको छ ।

घटनाक्रम हेर्दा यो युद्धले विश्व ध्रुवीकृत हुने र परिणामस्वरूप भयानक मोड लिने अनुमान गर्न थालिएको छ । इस्लाम कट्टरपन्थविरुद्ध एकखाले ध्रुवीकरणको सम्भावना देखिएको छ भने भूराजनीतिक कारणले अमेरिका र सहयोगीविरुद्ध परम्परागत रूपमा अमेरिकाविरोधी एकजुट हुने उत्तिकै सम्भावना पनि छ ।

यहाँ कमेन्ट गर्नुहोस्