कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

असोज २० विराटनागर___ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (शनिबार) विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ । गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन ।

उनले विश्वासको मत लिन नेपाली कांग्रेस(२९), माओवादी (१३), नेकपा (एकीकृत समाजवादी)(४) मध्ये कुनै एक दललाई आफूतिर तान्नुपर्छ । जसपाको १ मत पाएर पनि उनले विश्वासको मत लिन सक्दैनन् । गठबन्धनमा रहेका कुनै पनि दलले अहिले सरकारलाई विश्वासको मत दिने संकेत गरेका छैनन् । गठबन्धनमा रहेका काग्रेस माओवादी, एकीकृत समाजावदी र जसपाले नै अहिलेको सरकारलाई विश्वासको मत नदिने संकेत गरेका छन् ।

अहिलेको सरकारलाई विश्वासको मत नदिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबो बताउँछन् । यसअघि नै कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । राप्रपाले समेत विश्वासको मत नदिने बताइरहेको छ । यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए ।

यसपटक उपसभामुखले मत हाल्न पाउने छैनन् । उनले प्रदेशसभा बैठक चलाउनु पर्ने हुन्छ ।यस्तो अवस्थामा एमालेसँग ३९ मत मात्रै छ । मुख्यमन्त्री कार्कीले राजीनामा दिने सम्भावनासमेत रहेको एमाले नेताहरूले बताएका छन् । विश्वासको मत लिने कि राजीनामा गर्ने भन्ने विषयमा छलफल भइरहेको एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्