साउन ७ विराटनगर__ जिल्ला प्रशासन कार्यालय मोरङको हाताभित्र एक युवकले विष सेवन गरेका छन् ।आइतबार अपराह्न करिब ४ बजे प्रशासन कार्यालय क्षेत्रमा चेक बाउन्स मुद्दामा फरार कटहरी गाँउपालिका–३ का विनित सोनारले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार खोजी सूचीमा रहेका करिब ३२ वर्षीय सोनारले किटनाशक औषध ‘ट्रिक्कल’ सेवन गरेका थिए । फरार रहेका उनी अपराह्न प्रशासन कार्यालय पुगेका थिए ।
प्रशासन कार्यालय पुगेको खबरसँगै प्रहरी पक्राउ गर्न पुगेको थियो । प्रहरीलाई देखेसँगै सोनारले किटनाशक औषध सेवन गरेको प्रवक्ता दाहालले जानकारी दिए । प्रहरीका अनुसार सोनारको तत्काल उद्धार गर्दै उपचारका लागि कोसी अस्पताल पुर्याइएको थियो । कोशीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रवक्ता दाहालले बताए ।