अनुचित लेनदेन (मिटरब्याजपीडित) समस्या समाधान आयोगको अवधि तीन महिना थप

असार २७ काठमाण्डौं  ___अनुचित लेनदेन (मिटरब्याजपीडित) समस्या समाधान आयोगको अवधि तीन महिना थप भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी काम नभ्याइएको भन्दै म्याद थप गरेको हो । सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपेको हो ।

सरकारले गत २० चैतमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वसहमहान्यायाधिवक्ता गणेशराज अर्याल सदस्य रहेको आयोग गठन गरेको थियो । बैठकले मंगलबार मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरिएको हो ।

सरकारले धानको समर्थन मूल्य तोक्ने निर्णय पनि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय भएको हो । जसअनुसार मोटा धानको प्रतिक्विन्टल मूल्य तीन हजार एक सय ९८ र मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ तोकिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्