प्राकृतिक विपत्ति न्यून गर्ने उद्देश्यले दिइने पूर्वसूचनाको उपयोग हुन नसक्दा जनधनको क्षति

असार २० काठमाडौँ___ विभिन्नखालका प्राकृतिक विपत्ति न्यून गर्ने उद्देश्यले दिइने पूर्वसूचनाको उपयोग हुन नसक्दा जनधनको क्षति बढी हुने गरेको देखिएको छ। नभएको सूचना बढी खोजी गर्ने तर दिइएको सूचना उपयोग र व्यवस्थापनमा ध्यान दिन नसक्दा नेपालमा क्षतिको आँकडा बढ्न थालेको विज्ञहरूले औँल्याउनुभएको छ।

अघिल्लो शुक्रबारदेखि सङ्खुवासभा, पाँचथर र ताप्लेजुङ क्षेत्रमा भारी वर्षा भयो। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबारदेखि नै कोशी प्रदेशका विभिन्न ठुला साना नदीमा बहाव बढ्ने सूचना दियो।  शनिबार बिहानको बुलेटिनमा ती क्षेत्रको नक्सामा पहेँलो रङ पोतेरै बाढीको खतराको सङ्केत ग-यो। तर त्यो रङको अर्थ बुझेर पूर्वतयारी कसैले गरेनन्।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले भन्नुभयो, “स्थानीयले त बुझेनन्बुझेनन् तर कम्तीमा हाइड्रोपावरले त त्यो खतराको सङ्केत बुझ्नुपथ्र्र्यो तर बुझेनन् वा लापरबाही गरिएको पनि हुन सक्छ।” फलस्वरूप जनधनको ठूलो क्षति भयो। हाइड्रोपावरमा काम गर्ने १७ जना बेपत्ता भए। घटनामा छ जनाको मृत्यु पुष्टि भइसकेको छ। त्यो दिन कोशी प्रदेशको तीन वटै जिल्लामा आकस्मिक बहाव हुने सूचनासहित नक्सा र स्थानमा पहेँलो रङ पोतेर खतराको सङ्केत गरिएको थियो।

यसबाहेक २०७८ सालको असोजको बेमौसमी बाढी र २०७७ सालको मेलम्चीमा आएको बाढीको सूचनामा पनि धेरैले बेवास्ता गरेका थिए। उहाँले पूर्वतयारीका लागि दिइने पूर्वसूचना मात्र खतराबाट भाग्नका लागि मात्र नभई पहिल्यै तयारी गरेर जनधनको क्षति कम गर्ने भन्ने कुरा समुदायमा राम्ररी बुझाउनुपर्ने बताउनुभयो। सङ्खुवासभामा आकस्मिक बाढीसँगै पहिरोका घटना आयो। उहाँले त्यस्ता भेलबाढीको प्रवृत्ति पछिल्लो समय बढ्दै गएको उल्लेख गर्दै आकस्मिक बाढीको केही हदसम्म पूर्वानुमान गर्न सकिए पनि भेलपहिरोको पूर्वानुमान गर्न सकिने अवस्थामा विभाग नरहेको प्रस्ट्याउनुभयो।

नदीको बहाव कसरी उच्चतिर वा तलतिर गइरहेको छ भनेर विभागले प्रविधिगत विश्लेषण गर्छ। बढी बहाव र वर्षा भएको क्षेत्रलाई केन्द्रित गरेर सूचनासहितको बुलेटिन बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गर्छ। जसले पूर्ण रूपमा क्षति रोक्न नसके पनि कमभन्दा कम जनधनको क्षति गराउन सकिन्छ। विभागका महानिर्देशक जोशीले त्यस्ता सूचना उपयोग सम्बन्धित निकायले राम्ररी प्रयोग गर्न नसकेको गुनासो गर्नुभयो।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर  खड्काले यो वर्ष गत वर्षभन्दा आठ दिन ढिला मनसुन नेपाल भित्रिए पनि क्षति गत वर्षको तुलनामा धेरै पु-याएको जानकारी दिनुभयो। प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले नेपालमा पछिल्लो समय बाढीपहिरोसँगै बहुप्रकोपीय विपत्को प्रवृत्ति सुरु भएकाले त्यससँग जुध्न समाधानकारी उपाय खोजीमा सरकार र प्राधिकरण लागेको बताउनुभयो। साभार गोरखापत्र

 

यहाँ कमेन्ट गर्नुहोस्