असार १९ काठमाडौं___निर्वाचनमा उम्मेदवार बन्नेहरुले मनोनयन पत्र पेस गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेस गर्नुपर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा यस्तो प्रावधान राखिएको हो । निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो जानकारी दिएका हुन् ।
यसरी पेस गरिएको सम्पत्ति विवरण गोप्य रहने व्यवस्था मस्यौदामा गरेको उनले बताए ।उम्मेदवारले मनोनयन पत्र पेस गर्दा निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने बैंक खाताको विवरण, निर्वाचन प्रयोजनका लागि खर्च गर्ने अनुमानित रकम तथा त्यसको स्रोत उल्लेख गरी निर्वाचन प्रयोजनका लागि खर्च गर्ने रकम तथा आर्थिक सहयोगबापत रकम त्यस्तो खातामा जम्मा गर्ने र निर्वाचन प्रयोजनका लागि सोही खाताबाट मात्र खर्च गर्ने कुराको प्रतिबद्धता गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।
निर्वाचनमा तोकिएको भन्दा बढी खर्च भएको प्रमाणित भए पद नै जानसक्ने व्यवस्था मस्यौदामा राखिएको उनको भनाइ छ । उनले भने,‘पहिलाको भन्दा नयाँ मस्यौदा आर्थिक रुपमा बढी मितव्ययी हुन्छ भन्नेकुरा हो । पुरानाभन्दा धेरै मितव्ययी निर्वाचन ऐन यो बन्नेछ ।’