जेष्ठ २४ काठमाण्डौं ___ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट तीन जिल्लामा मात्रै केन्द्रित भएको भन्ने विषयमा सरकारसंग कुरा गर्ने बताएका छन् । बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले बजेट डडेल्धुरा, गोरखा र नुवाकोटमा मात्रै केन्द्रित गरेर ल्याएको भन्ने सुन्नमा आएको भन्दै त्यसबारे थप कुरा गर्ने बताएका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आएको भन्दै यसबारे आफू जानकार नभएको उल्लेख गरे । उनले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारे पार्टीका नेता, सत्तारुढ दलका नेताहरू र गठबन्धनका नेताहरुसँग बुझ्ने बाँकी रहेको पनि बताए । ‘नेपाल भारत भ्रमणको पनि चर्चाको विषय बन्यो, त्यसमा प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । कुनै प्रतिक्रिया सकारात्मक कुनैमा कतिपय कुराहरु नगरेको भए हुने जस्तो आयो ।
उनले भने ‘त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो की होइन, यसबारेमा सबै कुरा बुझ्न बाँकी छ, मेरो पहिलो काम पार्टीका नेता र सत्तामा रहेका नेताहरूसँग भेटेर कुरा गर्ने रहेको छ । अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमै बस्ने र लगानी गर्ने वातावरणको सिर्जना गर्ने विषयलाई जोड दिएको बताए ।