जेष्ठ २० काठमाण्डौं ____ सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सुर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार स्प्रिट, बियर, इथानोल र अन्य मदिरा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर ५५ हजार रुपैयाँले बढाइएको हो ।
यस्तो शुल्क यसअघि एक लाख ९५ हजारबराबर रहेकामा त्यसलाई बढाएर दुई लाख ५० हजार रुपैयाँ पुर्याइएको छ । वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क चार हजारले बढाएर एक लाख रुपैयाँ पुर्याइएको छ । चुरोट उत्पादन गर्ने प्रतिष्ठानलाई दुई लाख ४० हजार इजाजत तथा नवीकरण दस्तुर लाग्दै आएकामा त्यस्तो शुल्क तीन लाख रुपैयाँ पुर्याइएको छ ।
मदिरा बिक्रीवितरणका लागि होटेल, रेस्टुराँ, रिसोर्ट, बारले लिने इजाजत तथा नवीकरण दस्तुर पनि बढाइएको छ । यस्तो शुल्क यसअघि पाँचतारे होटेललाई ६० हजार रहेकामा ७५ हजार, चारतारे होटेललाई ४८ हजार रहेकामा ६० हजार र तीनतारे होटेललाई ३६ हजार रहेकामा ४५ हजार रुपैयाँ बनाइएको छ । दुईतारेलाई २४ हजार रहेकामा ३० हजार र एकतारेलाई १२ हजार रहेकामा १५ हजार रुपैयाँ पुर्याइएको छ ।
स्वदेशी तथा विदेशी मदिरा बेच्ने पर्यटकस्तरको रेस्टुरेन्ट, रिसोर्ट तथा पार्टी प्यालेसले इजाजत तथा नवीकरणका लागि आठ हजार ५०० तिर्दै आएका थिए । अहिले त्यसलाई बढाएर ११ हजार रुपैयाँ पुर्याइएको छ । साधारण होटेल, रेस्टुरेन्ट, बार तथा लजका लागि चार हजार ५०० बराबर शुल्क रहेकामा ६ हजार पुर्याइएको छ ।
मदिरा वितरकलाई यस्तो शुल्क ३६ हजारबराबर रहेकामा बढाएर ४५ हजार पुर्याइएको छ । मदिराको थोक बिक्रेतालाई २४ हजार दस्तुर लाग्ने गरेकामा ३० हजार रुपैयाँ पुर्याइएको छ ।मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताको इजाजत लिन तथा त्यस्तो इजाजत नवीकरण गर्दा लाग्ने शुल्क पनि बढाइएको छ । यस्तो इजाजत तथा नवीकरणका लागि १२ हजार शुल्क लाग्ने गरेकामा अब १५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।
यस्तै, डिपार्टमेन्टल स्टोरले २४ हजार शुल्क तिर्दै आएकामा ३० हजार तिर्नुपर्नेछ । विदेशी मदिरा तथा स्प्रिट आयातकर्ताको अनुमति लिन तथा त्यस्तो अनुमतिपत्रको नवीकरणका लागि ४८ हजार शुल्क लाग्दै आएकामा ६० हजार पुर्याइएको छ । विदेशी चुरोट तथा सिगार, सुर्तीजन्य पदार्थ आयातकर्तालाई ४८ हजार बराबर शुल्क लाग्दै आएको थियो । त्यसलाई बढाएर ६० हजार तोकिएको छ ।
त्यस्तै, पान मसला, चुरोट, खैनी, जर्दा, नश, तथा सुर्तीजन्य वस्तुका थोक बिक्रेताको लाइसेन्स तथा नवीकरणका लागि सात हजार २०० लाग्दै आएकामा अब १२ हजार शुल्क लाग्नेछ । यस्ता वस्तुको खुद्रा बिक्रेताका लागि दुई हजार शुल्क लाग्दै आएकामा अब तीन हजार लाग्नेछ । पान मसला, खैनी, जर्दा, नश, चुरोटबाहेकका सूर्तीजन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानका लागि एक लाख २० हजार लाग्दै आएकामा अब दुई लाख रुपैयाँ शुल्क लाग्नेछ । रासस