जेष्ठ ५ काठमाडौं___राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेका छन् । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८० र ८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेका हुन् । सरकाले विगत १५ वर्षदेखि निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गर्दै आएको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा गर्न नसकेको सरकारले अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको हो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल योजना झण्डै साढे दुई दशक पुरानो हो। मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो महसुस भएपछि वि.स २०५१ तत्कालीन सरकारले निपेकोन र आइआरएडी कम्पनीलाई अध्ययनसहित विकल्प खोज्न जिम्मेवारी दिएको थियो। उक्त कम्पनीले नेपालका विभिन्न आठ स्थान विराटनगर, जनकपुर, भरतपुर, निजगढ, नेपालगञ्ज, धनगढी, सुर्खेत र भैरहवाको स्थलगत प्राविधिक अध्ययन गर्यो।
कम्पनीले ती सबै ठाउँको हवाई उडड्यनका दृष्टिले प्राविधिक अध्ययन गरिसकेपछि सबैभन्दा उपयुक्त निजगढ हुने निष्कर्ष निकाल्दै सरकारलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सिफारिस गरेको थियो। सिफारिसको १३ वर्षपछि २०६४ साल पुस १८ गते राष्ट्रिय योजना आयोगले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी योजनालाई सूचीकृत गर्यो।
सूचीकृत भएको एक वर्षपछि २०६५ पुस २ गतेको मन्त्रिपरिषद्ले ल्याड मार्क वर्ल्डवाइड एलएमडब्लुसँग आयोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता गर्यो। मन्त्रिपरिषद्को निर्णयअनुसार संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र एलएमडब्लु बीच सम्झौता भएको थियो। २०६६ फागुन २३ मा पर्यटन मन्त्रालय र एलएमडब्लु बीच विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्झौता भयो।