मंसिर १७ काठमाण्डौं ____ भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटाइएको छ। बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो।
तर खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने निगमले जनाएको छ। पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी गर्दै निगमले नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने बेहोराको विज्ञप्ति जारी गरेको हो।
बिक्री-वितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान निगमले गरेको छ। यस्तै ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने उसको दाबी छ। हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ।
हेर्नुहोस् नेपाल आयल निगमको विज्ञप्ति–