कार्तिक ३० एजेन्सी___ अक्षय कुमार अभिनित फिल्म ‘सूर्यवंशी’ले सय करोड बढी व्यापार गरेको छ। यस फिल्मले कोरोना महामारीबीच थला परेको बलिउड फिल्म क्षेत्रलाई पुरानै लयमा फर्काएको छ। कोरोना महामारीपछि सय करोड भन्दा बढीको व्यापार गर्ने यो पहिलो फिल्म हो।
यसअघि पनि अक्षयका १५ वटा फिल्महरुले सय करोड भन्दा माथिको व्यापार गरिसकेका छन्। जसमा ‘एयरलिफ्ट’, ‘गोल्ड’, ‘होलिडे’, ‘राउडी राठौर’, ‘हाउसफुल सिरिज’, ‘रुस्तम’, ‘जोली एलएलबी’, ‘केसरी’, ‘ट्वाइलेट : एक प्रेम कथा’ पर्छन्। जसकारण पनि उनी सफल अभिनेताको रुपमा चिनिन्छन्।
तर, अक्षयले भने फिल्म सफल हुनुको कारण कसैलाई थाहा नहुने बताए। भन्छन्, ‘फिल्मको सफलताको सूत्र कसैको बुबालाई पनि थाहा हुँदैन। फिल्म चल्नुको कारण के हो भनेर कसैले भन्न सक्दैन। मेलै आफ्नो फिल्म करियरमा देखेको छु कुनै फिल्मको स्क्रिप्ट देखि फिल्म पनि राम्रो बनेको हुन्छ। रिलिजअघि फिल्मको निकै चर्चा चल्छ तर त्यो फिल्म हेर्न कुकुर पनि आउँदैन। कुनै फिल्मको चर्चा हुँदैन, फिल्म कस्तो बनेको छ भनेर कसैले पनि सोध्दैनन् तर अन्त्यमा ती फिल्महरु नै हिट हुन्छन्।’
अक्षय एक वर्षमा चार/पाँच फिल्ममा देखिन्छन्। यसरी सय करोड कलेक्सन गर्दा अक्षयलाई थप उर्जा मिल्छ। फिल्मले सय करोडमाथिको व्यापार गर्दा ठूलो फिल्म बनाउनमा खर्च गर्न प्रोत्साहन मिल्ने उनले बताए।‘म फिल्म क्षेत्रबाट नै आएको हुँ। फिल्म उद्योगबाट कमाएको पैसा यसै क्षेत्रमा खर्च गर्न चाहन्छु। म त चाहन्छु, अझै नयाँ सिनेमाहल खुलोस्। ठूलो फिल्म होस् जसको कमाई ३ सय, ४ सय मात्र होइन् ८ सय करोड होस्,’ बीबीसी हिन्दीमा उल्लेख छ।