कार्तिक २९ काठमाण्डौं ____ सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।यसअघि २०७८ वैशाखमा अघिल्लो सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पास नभएकाले सो अध्यादेश निष्क्रिय भएको थियो ।
अब यसअघि जारी भएको अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर मस्यौदा तयार गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नयाँ अध्यादेशका लागि मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ ।
सरकारले आवश्यक तयारी पूरा नगरेका कारण नेपाल ल्याइसकिएको रेल सञ्चालनमा आउन सकेको छैन । रेल चलाउन कानुनी व्यवस्थापनबाहेक अन्य सबैजसो तयारी सकिएको मन्त्रालयले जनाएको छ । अध्यादेश जारी भएपछि एक विशेष समारोह गरेर रेल सेवा सञ्चालनको सुरुआत गर्ने योजना सरकारको छ ।