धानमा डुबेका कृषकलाई गहुँ छर्न छैन मल

कार्तिक १५ कञ्चनपुर___ बेमौसमी वर्षाले धान खेती नष्ट भएपछि किसान गहुँ छर्ने तयारीमा जुटेका छन् । खेतमै कुहिएको धान हटाएर खनजोतमा लागेका छन् । विगत झैं यसपटक पनि किसानले गहुँका लागि रासायनिक मलको अभाव भने झेल्नुपर्ने देखिएको छ । मल आपूर्ति गर्ने संस्थाका गोदाम लगभग रित्ता छन् । गहुँका लागि मात्रै होइन, वर्षापछि जोगिएको तोरी, तरकारी र केरा खेतीका लागि पनि मलको अभाव चर्को छ । किसानहरू युरिया तथा डीएपी मल नपाएर भौंतारिएका छन् ।

यतिबेला उनीहरूले तोरी र तरकारीका लागि भारतबाट अवैध रूपमा भित्रिएको रासायनिक मल चर्को मूल्य तिरेर प्रयोग गरिरहेका छन् । ‘चार/पाँच महिनादेखि युरिया र डीएपी पाइएको छैन, केरामा रासायनिक मल पुर्‍याउनै सकिएको छैन,’ केरा उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्णसिंह साउदले भने, ‘रासायनिक मलको अभावमा केराको उत्पादन पनि सप्रिएको छैन ।’

डीएपी नपाइएपछि किसानले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बेचिरहेको सिंगल सुपर फस्फेट (एसएसपी) को प्रयोग गरिरहेको साउदले बताए । यो पनि सकिएपछि फेरि हाहाकार हुन सक्ने उनको भनाइ छ । कञ्चनपुरमा करिब ५ सय हेक्टरमा केरा खेती गरिन्छ । ‘गहुँको तयारी सुरु भयो, मल कतै छैन,’ भीमदत्त नगरपालिका–११ का किसान नारायण साउदले भने, ‘धान वर्षाले बगायो, गहुँका लागि मल नै नपाइने जस्तो छ ।’ वर्षाले उनको दुई बिघाको धान खेती नोक्सान गरेको थियो । गाई–भैंसीका लागि पराल पनि नबचेको उनले बताए ।

कञ्चनपुरमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गोदाम लगभग रित्ता छन् । साल्ट ट्रेडिङको गोदाममा ७ सय बोरा एसएसपी (फस्फेट) छ भने कृषि सामग्री कम्पनीको गोदाम भदौदेखि रित्तो छ । डीएपी र युरिया तत्काल आउने सम्भावना पनि छैन । ‘डीएपीको साटो एसएसपी ल्याएका छौं, अहिले त्यही बिक्री भइरहेको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड महेन्द्रनगरका प्रमुख दीपक भट्टले भने, ‘तिहारपछि युरिया र डीएपी आउने सम्भावना छ ।’ युरिया र डीएपी भने जेठदेखि आएको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडमा पनि भदौदेखि युरिया आएको छैन । रोपाइँका बेला आएको डीएपी र युरिया असारमै सकिएपछि यहाँ मलको हाहाकार भएको थियो । यस वर्ष युरिया २५ सय टन, डीएपी १८ सय टन र पोटास ७० टनको कोटा प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरका प्रमुख बलबहादुर शाहले जानकारी दिए । यसमध्ये पहिलो चौमासिकमा ५४० टन डीएपी र ४७५ टन युरिया प्राप्त हुने उनले बताए । ‘अहिले गोदाममा युरिया र डीएपी केही पनि छैन,’ शाहले भने, ‘छिट्टै आउने भन्ने खबर आएको छ । तर तिहारअघि आउने सम्भावना छैन ।’

दोस्रो चौमासिकमा फागुनसम्म ७५० टन युरिया र ५४० टन डीएपी थप प्राप्त हुने उनले बताए । रासायनिक मलको अभाव कञ्चनपुरमा मात्रै होइन, सुदूरपश्चिमभरि नै हुने देखिन्छ । धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक गोदामा ११५ टन युरियाबाहेक अन्य मल छैन । तत्काल मल आउने सम्भावना पनि नरहेको लिमिटेडका प्रादेशिक प्रमुख नवलसिंह बोगटीको भनाइ छ ।

कृषि सामग्रीले गत वर्ष सुदूरपश्चिममा २० हजार २०९ टन युरिया र डीएपी बिक्री गरेको थियो । त्यतिले मात्रै नपुग्ने भएकाले ३० हजार टनसम्म आवश्यक पर्ने उनले बताए । गहुँका लागि ६ हजार टन डीएपी र ५ हजार टन युरिया आउने बोगटीले जानकारी दिए । धनगढीस्थित साल्ट ट्रेडिङको प्रादेशिक गोदाममा पनि एसएसपीबोहक अन्य मल छैन । तत्काल आउने सम्भावना पनि छैन । युरिया र डीएपी तिहारपछि मात्रै आउने प्रादेशिक कार्यालयका प्रमुख केशव पाण्डेयले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्