कार्तिक १४ वीरगंज___ प्रदेश नं. १ बाट आएका होटल तथा पर्यटन व्यवसायीहरुलाई वीरगञ्जमा स्वागत तथा सम्मान गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं २ र पर्यटन तथा हवाई यातायत समितिले उद्योग वाणिज्य संघमा आयोजना गरेको एक कार्यक्रमबीच प्रदेश १ का होटल तथा पर्यटन व्यवसायीहरुलाई स्वागत तथा सम्मान गरेको हो । होटल एसोसियसन नेपाल हान प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठको नेतृत्वमा वीरगञ्ज आएका होटल तथा पर्यटनी व्यवसायीको प्रतिनिधि मण्डललाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ नेतृत्वको टोलीले स्वागत गरेका थिए ।
स्वागत पश्चात आयोजित कार्यक्रममा होटल तथा पर्यटन व्यवसायीहरुले आपसी सहकार्यमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने प्रस्ताव राखेका थिए । उनीहरुले प्याकेज बनाएर दुवैतिरको व्यवसाय प्रवद्र्धन र अन्तर सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए । धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले दुवै प्रदेशमा प्रचुर मात्रामा सम्भावना भएपनि पर्यटन क्षेत्रमा राज्यको उपेक्षाका कारण पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेको भन्दै उनीहरुले यसलाई दुवै प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरुले एक अर्कालाई हातेमालो गर्दै पर्यटन व्यवसायको प्रवद्र्धन गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी वीरगञ्जका उद्योगी, होटल तथा पर्यटन व्यवसायीले नेपाल आउने भारतीय पर्यटकलाई प्रदेश २ मा मात्रै नभई अन्य प्रदेशहरुमा पनि सम्मान गर्न सक्नुपर्ने कुरामा जोड दिएका थिए । उनीहरुले भारतीय पर्यटकलाई आर्कषित गर्न विभिन्न खाले प्याकेजहरु ल्याउनुपर्ने बताए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघको आगामी कार्य समितिको बैठक भेडेटारमा गर्ने घोषणा समेत गरिएको छ । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव मनोज दास, सह सचिव अनोज रुंगटा, पर्यटन तथा हवाई यातायत समिति सह संयोजक सञ्जय अग्रवाल, नेपाल युव उद्यमी मञ्च वीरगन्जका अध्यक्ष अनुप अग्रवाल, मकालु होटलका सञ्चालक मोहन प्रधान लगायतले प्रदेश नं २ र प्रदेश १ मा पर्यटकीय सम्भावना र सहकार्य गर्न सकिने स्थानहरुको बारेमा चर्चा गरेका थिए ।
होटल व्यवसायी महासंघ प्रदेश १ का संस्थापक अध्यक्ष मणिन्द्र बहादुर कटुवाल, भाविस कुमार श्रेष्ठ, होटल व्यवसायी महासंघका महासचिव बासुदेव बराल, सुनसरी उद्योग वाणिज्य संघकी एलिना मगर, बर्दिबासका होटल व्यवसायी दिपेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो ।