कार्तिक १३ काठमाडौं___‘मिस युनिभर्स नेपाल २०२१’ दोस्रो संस्करणको फिनाले आज हुदैछ। राजधानीको होटल याक एन्ड यतिमा साँझ ६ बजेबाट फिनाले शुरु हुने आयोजकले जनाएको छ। फिनालेमा १६ जना प्रतिस्पर्धीहरुबाट एक जनाले प्रतियोगीले मिस युनिभर्स नेपालको ताज पहिरिनेछिन्।
शीर्ष १६ मा निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रितिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन परेका छन्।
मिस युनिभर्सको फिनालेको तयारी पुरा भएको मिस युनिभर्सकी निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन्। ‘मिस युनिभर्स नेपाल २०२१’ फिनालेको सम्पूर्ण तयारीहरु पुरा भइसकेको छ। आज हुने फिनालेमा शीर्ष १६ बाट टप १० हुँदै टप ५ बाट विजेता घोषित गरिनेछ।
मिस युनिभर्स नेपाल टाइटल विजेताले १० लाख रुपैयाँ नगद र हीरा जडित ताज पाउनेछन्। यसपटकको मिस युनिभर्सको टाइटल स्पोन्सर अन्तर्राष्ट्रिय वितरण कम्पनी ओरीफ्लेम हो। मिस युनिभर्स विजेताले आउँदो १२ डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’ मा प्रतिनिधित्व गर्नेछिन्।
गत वर्षको ‘मिस युनिभर्स नेपाल’ को उपाधि अंशिका शर्माले हात पारेकी थिइन्। प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन्।