कार्तिक ११ काठमाण्डौ___ मन्त्रालय विभाजनको टुंगो नलाग्दा प्रदेश सरकार विस्तार अन्योलमा परेको छ । मन्त्रालय विभाजन गरी नेकपा एकीकृत समाजवादीलाई पनि लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी गराउने तयारी छ । तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफल समेत हुन सकेको छैन् । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसलाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्रयाएर १० पुर्याएको थियो । आकर्षक मन्त्रालयहरु कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको २ मन्त्रालय लिन नेकपा (एस) इच्छुक देखिएको छैन् ।
जसपाको भागमा रहेको महत्वपूर्ण मन्त्रालयमा नेकपा एसले दावी गर्दा सरकार विस्तार लम्बिएको हो । मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी हुन चाहेको छैन् । मुख्यमन्त्री राउतलाई विश्वासको मत दिएका नेकपा एस प्रदेश सभामा विपक्षीको लबिमा बसेका थिए । सरकारमा सहभागी हुने अनौपचारिक छलफल भएपनि पार्टीको गतिविधिमा व्यस्त हुँदा त्यसलाई मूर्तरुप दिन नसकिएको नेकपा (एस) संसदीय दलका नेता शत्रुधन महतोले बताए ।
नेकपा एसले २ मन्त्रालय लिएर सरकारमा जाने छ- नेता महतोले भने, ‘मन्त्रालय टुंगो लगाएपछि मात्रै सरकारमा जाने बारे औपचारिक छलफल हुन बाँकी छ ।’ नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका नेताहरु बिच सरकार विस्तार बारे छलफल भइसकेको उनले बताए । प्रदेशसभामा नेकपा एसका १३ जना सांसद छन् । नेकपा एसबाट संसदीय दलका नेता महतोसहित एक जना महिला सांसदलाई मन्त्री बनाउने तयारी छ । सर्लाही जिल्लाबाट तत्कालीन एमालेबाट निर्वाचित बेची लुंगेलीको नाम चर्चामा रहेको पार्टी श्रोतले जनाए । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी नेपालले प्रदेशमा पनि गठबन्धनलाई निरन्तरता दिएको छ ।
गठबन्धनलाई सरकारमा सहभागी गराउन मन्त्रालय थपिदा प्रदेशमा आर्थिक व्यय भार समेत थपिएको छ । मुख्यमन्त्री राउतले नेकपा एसलाई सरकारमा ल्याउन समाजिक विकास मन्त्रालयलाई विभाजन गर्ने गृहकार्य थालेका छन् । तर, मन्त्री पद जोगाउन खेमा परिवर्तन गरेर आएका नवल किशोर साह रुष्ट हुने सम्भावना बढेको छ । प्रदेश २ मा ३८ सांसद रहेको जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, १९ सांसद रहेको नेपाली काँग्रेस ३ र ८ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।