साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर

कार्तिक १० काठमाण्डौ___ साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्दै जाने घोषित नीति लिएको छ । सोही नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली दूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रक्रियामा हस्ताक्षर भएको हो ।

जग्गा खरिदसम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट दूतावासका कार्यवाहक राजदूत दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट रोयल कमिसन फर रियाद सिटीका प्रमुख कार्यकारी अधिकृत फहद अब्दुल मोहसेन अल-रशीदले हस्ताक्षर गरेका छन् ।

दुई देशका सरकारबीच खरिद-बिक्री सम्झौता भएको उक्त जग्गाको कूल क्षेत्रफल ३ हजार ६ सय ६४ वर्गमिटर रहेको नेपाली दूतावासले जनाएको छ । खरिद गरेको जग्गामा ५ वर्षभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

नेपाल सरकारले खाडी क्षेत्रका मुलुकमध्ये सबैभन्दा पहिला साउदी अरबमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसअघि नेपाली दूतावास साउदीको पुरानो राजधानी जेद्दामा सन् १९७८ मा खुलेको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्