सिनामंगलबाट पक्राउ ११ अफगानी एक महिनादेखि थिए काठमाडौंमा

कार्तिक ८ काठमाण्डौ___ सिनामंगलको फेसबुक होटलमा अफगानी नागरिक जस्ता देखिने केही व्यक्ति बसिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यही सूचनालाई आधार बनाएर एउटा टोली सिनामंगल पठायो । नभन्दै त्यहाँको होटलमा ११ जना बसिरहेका रहेछन् ।

प्रहरीले सोधपुछ सुरु गर्यो ।

उनीहरुले आफूहरु बंगलादेशबाट नेपाल आएको बताए । सिआइबी प्रवक्ता एसपी श्यामकुमार महतोले फरकधारलाई दिएको जानकारीअनुसार त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । अहिलेसम्म प्रहरीले उनीहरु नेपाल कसरी आइपुगेका हुन् भन्नेबारे पूर्ण जानकारी पाइसकेको छैन । तर, उनीहरु अफगानिस्तानबाट भारत हुँदै सुनौली नाकाबाट नेपाल छिरेको चाहिँ एकिन भइसकेको छ । ३ महिला र ८ पुरुष उनीहरु अहिले प्रहरी नियन्त्रणमा छन् । यीमध्ये एकै परिवारका हुन्, पाँच जना । उनीहरुसँग भारतीय आधार कार्डजस्तो देखिने परिचयपत्र पनि नेपाल प्रहरीले बरामद गरेको छ । तर, यी परिचय पत्र सक्कली हुन् या नक्कली भन्नेबारे प्रहरी सोधपुछकै क्रममा छ । प्रहरीले उनीहरु नेपालमा आएको जानकारी आइतबार मात्र पाए पनि यी ११ जनामध्ये केही झन्डै एक महिनाअघि नै नेपाल आइपुगेका थिए ।

‘उनीहरुमध्ये केही २५–३० दिनअघि नै नेपाल आएर होटलमा बसिरहेका रहेछन्, केही पाँच दिनअघि मात्र काठमाडौं आएका रहेछन्,’ एसपी महतोले भने । सिआइबीले गोप्य सूचनाका आधारमा गरेको छापामारीमा उनीहरु पक्राउ परेपछि उनीहरुले अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यसको डरमा नेपाल आइपुगेका बताएका छन् । सोधपुछपछि सिआइबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी गरेको छ । उनीहरुलाई नेपालस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयले गुपचुप राखेको हुनसक्ने अनुमान गरिएको छ । युएनएचसिआरले उनीहरुको काठमाडौंको बसाइको सम्पूर्ण व्यवस्थापन गर्दै आएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले चाहिँ खुला सीमा नाका भएका कारण उनीहरु नेपाल आएको विषयमा जानकारी राख्न नसकिएको बताएको छ । ‘अफगान, बंगलादेशी, पाकिस्तान, भारतलगायतका देशका नागरिक उस्तैउस्तै हुन्छन्,’ एसपी महतोले भने, ‘सीमा खुला भएकाले उनीहरु सहजै नेपाल छिर्छन् । अफगानीहरु नेपाल आएको थाहा पाएपछि सीमानाकामा आफूहरुले कडा निगरानी सुरु गरेको पनि सुरक्षा निकायले बताएका छन् । गृह मन्त्रालयले पनि थप अफगानीहरू नेपाल आउन सक्ने सम्भावना रहेको भन्दै दक्षिणी सीमा क्षेत्रमा कडा निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहप्रवक्ता फणिन्द्रमणी पोखरेलले नेपाल आएकाहरूमाथि अध्यागमन कानून अनुसार कारवाही हुने बताए ।

यसअघि गत असोज पहिलो साता १४ जना रोहिंग्याहरू काठमाडौं आएका थिए । तीन जना दलालहरूले उनीहरू बंगलादेशबाट नेपाल ल्याएका थिए । लामो समयदेखि काठमाडौंको कपनमा रहेको रोहिंग्या शरणार्थी शिविर नजिकै बसोबास गर्दै आएका थिए । रोहिंग्या शरणार्थीहरूकै सूचनाको आधारमा सीबीआईले तीन जना दलाल र १४ जना रोहिंग्यालाई नियन्त्रणमा लिएको थियो । उक्त घटना सेलाउन नपाउँदै फेरी ११ जना अफगानी नागरिक नेपाल आएको पाइएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्