कार्तिक ७ काठमाण्डौ___ भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतले नेपाललगायत छिमेकी मुलुकमा चीनले सैन्य सहायता बढाएकाले त्यसलाई ‘काउन्टर’ गर्न भारतले ती देशसँग सम्बन्ध सुदृढ गर्नुपर्ने बताएका छन्। रावत भारतीय सेनाका पूर्वप्रमुख समेत रहेका थिए। अहिले उनी भारतका सुरक्षा निकायबीच समन्वय गर्ने चिफ अफ डिफेन्स स्टाफ छन्, जुन भारत सरकारले हालै मात्र स्थापना गरेको संयन्त्र हो। उनको भूमिका भारतीय रक्षामन्त्रीका मुख्य सैन्य सल्लाहकारको हो। रावतले दक्षिण एसियामा चीनको प्रभाव बढेकाले भारतलाई सुरक्षा चुनौती थपिएको बताएका छन्।
गुवाहटीमा शनिबार आयोजित कार्यक्रममा रावतले चीनले केही समययता नेपाल, श्रीलंका र माल्दिभ्समा उल्लेख्य मात्रामा सैन्य सहायता दिएको दाबी गरे। ‘चीनले छिमेकमा सैन्य सहायता वृद्धि गर्नु भारतको राष्ट्रिय हितविरुद्ध छ। भारतको भौगोलिक अखण्डता र रणनीतिक महत्त्वका हिसाबले पनि चीनको प्रभाव बढ्नु गम्भीर विषय रहेको उनले बताएका छन्। भारतका छिमेकी मुलुकमा पैसा खन्याएर चीनले ख्याती कमाउन खोजेको आरोप लगाउँदै रावतले भारत नै ती मुलुकको स्थायी मित्र रहेको दाबी पनि गरे। ‘तर भारत पारस्पारिक विकास र समान हैसियत रहने प्रत्याभूति दिलाउँदै छिमेकी मुलुकसँग निरन्तर इन्गेज भइरहनुपर्छ’, उनले भने, ‘म्यानमार र बंगलादेशमा यस क्षेत्रमा चिनियाँ सैन्य सहायता पाउने प्रमुख मुलुक छन्।’ विश्वको उदाउँदो शक्तिका रूपमा चीनले दक्षिण एसिया र हिन्द प्रशान्त क्षेत्रमा पनि अझ सशक्त ढंगले आफ्नो प्रभाव बढाउँदै जानु भारतका लागि चिन्ताको विषय भएको बताए।
पाकिस्तानी राज्य तथा गैरराज्यपक्षीय तत्त्वद्वारा भारतविरुद्ध आतंकवाद सञ्चालन गरिरहेको आरोप लगाउँदै उनले यसका कारण दुई छिमेकीबीच शान्ति प्रक्रिया अवरुद्ध भएको बताए। चीनले पाकिस्तानलाई सैन्य सहायता बढाइरहेको तथा अन्तर्राष्ट्रिय मञ्चमा साथ दिइरहेको दाबी गर्दै उनले भने, ‘चीन र पाकिस्तानबीच यस्ता सहयोग यी दुई मुलुकका भारतविरोधी गठजोडका हिस्सा हुन्। कस्मिरमा केही समययता हिंसात्मक घटना बढ्नुमा पाकिस्तानको हात रहेको आरोप पनि उनले लगाए। भारत र चीनबीचको सीमा विवादलाई लद्दाख र भारतको उत्तरपूर्वी राज्यसँग जोडिएको सवालका रूपमा मात्र नलिएर समग्रतामा हेरिनुपर्ने उनले बताए।
सीमा समस्या हल गर्न चीनसँग समय–समयमा राजनीतिकलगायत विभिन्न तहमा वार्ता भइरहे पनि निकास भने निस्किन नसकिरहेको उनले गुनासो गरे। भारतको उत्तरपूर्वी राज्य आसामसँग सीमा जोडिएका नेपाल, बंगलादेश, म्यानमारलगायत मुलुकमा चीनको बढ्दो प्रभाव र त्यसले भारतको सुरक्षामा पार्ने असरबारे उक्त कार्यक्रम आयोजना गरिएको थियो। बंगलादेश र नेपालसँग सीमा जोडिएको भारतको उत्तरपूर्वस्थित सिलुगढी करिडोर (जसलाई चिकन्स नेकका नामले बढी चिनिन्छ) लाई भारतले सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र मान्छ। करिडोरले भारतको उत्तरपूर्व र बाँकी भूभाग जोड्छ। चिकन्स नेकमा तनाव उत्पन्न भए त्यसले भारतको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामा गम्भीर आँच आउने भारतको बुझाइ छ। भारतले चीनसँगको सीमा विवाद बल्झिएकाले आफ्ना उत्तरपूर्वी तथा दक्षिणपूर्वी राज्यमा सुरक्षा चुनौती थपिएको बताउने गरेको छ।