काउन्सिल र अनलाइन टिभी पत्रकार संघबिच छलफलः युट्युब नियमन गर्न सङ्घको आग्रह

जेष्ठ १३ काठमाण्डौ ___प्रेस काउन्सिल नेपाल र अनलाइन टिभी पत्रकार सङ्घ नेपालबिच आज छलफल भएको छ । अनलाइन सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार सामग्रीका विषयमा काउन्सिलले चाल्नुपर्ने आगामी कदमका विषयमा छलफल भएको हो ।

पछिल्लोसमय अनलाइन, युट्युब, अनलाइन टिभीमा प्रसारित समाचार सामग्री पत्रकार आचारसंहिताभन्दा बाहिर रहेर प्रकाशन गरिएको विषयमा दुई पक्षबिच छलफल भएको काउन्सिल सचिवालयले जनाएको छ । काउन्सिलले सूचीकरणको प्रक्रियामा आउन र मर्यादित पत्रकारिता गर्ने विषयमा यही जेठ १० गते बसेको बोर्ड बैठकले गरेको निर्णयबारे सङ्घलाई जानकारी गराइएको थियो ।

अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी, पत्रकार शोभराज बराल, सरोज गिरी, पुण्य गौतम, कुशलभ केसी. र मिलन खत्री तथा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र उपप्रशासकीय अधिकृत रामशरण बोहराबिच भएको छलफलमा पत्रकार आचारसंहिता विपरीतका अनलाइन, युट्युब र अनलाइन टिभीका गतिविधिलाई नियमन गर्नेबारे सहमति भएको छ ।

यसैबिच छलफलका क्रममा सङ्घले काउन्सिललाई पत्रकारिताको दायरामा रहेका युट्युब च्यानललाई पत्रकारिताकासम्बन्धी कानुन र त्यसबाहेकलाई अन्य कानुनअनुसार कारबाही गर्न अनुरोध गर्दै ध्यानाकर्षण बुझाएको छ ।

‘केही युट्युब च्यानलबाट अति उच्छृङ्खल, अशिष्ट, अपाच्य र सञ्चार माध्यमको सामान्य सिद्धान्तविपरीतका सामग्री प्रसारण भइरहेको र त्यस्ता सामग्रीप्रति आपत्ति जनाउँदै कारबाही गर्न तथा यस्ता विकृति न्युनिकरण गर्न आम रूपमा सुझाव आइरहेकोले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमहरूलाई पत्रकारितासम्बन्धी कानुन र त्यसभन्दा बाहिरकालाई अन्य कानुनअनुसार कारबाही गर्न/गराउनुहुन अनुरोध छ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

अनलाइन टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकामा पछिल्ला दिनमा ‘प्रयाङ्क’का नाममा थप विकृति देखिन थालेको भन्दै सङ्घले काउन्सिलको ध्यानकर्षण गराएको हो ।ध्यानाकर्षण पत्र बुझ्दै काउन्सिलका कार्यवाहक अध्यक्ष गाेपाल बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारबाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरुलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको जानकारी दिनुभयो

यहाँ कमेन्ट गर्नुहोस्