कार्तिक ५ उदयपुर___ उदयपुर जिल्लाको मालपोत कार्यालय कटारीले अनलाइन प्रणाली मार्फत भू–सेवा केन्द्र सुरु गरेको छ । मालपोत कार्यालयबाट हुने जग्गा दर्ता तथा नामसारी अनलाइनबाट नै हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
मालपोत कार्यालयमा भू–सेवा केन्द्र लागु भएपछि लिखित रुपमा भइरहेको काम भने पूर्ण रुपमा बन्द हुने बताइएको छ । भू–सेवा सञ्चालन भएको अवस्थमा लिखित पास गर्न नपाइने र सबै काम अनलाइनबाट हुने मालपोत कार्यालय कटारीका प्रमुख नेत्रराज भण्डारीले जानकारी दिए ।
भू–सेवा केन्द्रको सुरुवातपछि मालपोतको सम्पूर्ण लेखापढी सेन्टर भू–सेवा केन्द्रमा रुपान्तरण हुनेछन् । जग्गासम्बन्धी सम्पूर्ण काम अनलाइन प्रविधिबाट हुने भएकाले भू– सेवाबाट सेवा लिँदा सरल र सहज भएको सेवाग्राहीले बताएका छन् । भू–सेवा केन्द्रमार्फत हस्तलिखित जग्गाधनीपूर्जा विस्थापित हुने र कार्यलयमा भीडभाड समेत बन्द हुने मालपोत कार्यलय कटारीले जनाएको छ ।