रेल सञ्चालन गर्न मन्त्री यादवलाई ध्यानाकर्षण

कार्तिक ५ जनकपुर___ जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठको नेतृत्वमा स्थानीय व्यवासायीहरुले मन्त्री यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाएका हुन् । ज्ञापन पत्रमा ११ वर्षदेखि रेल सेवा अवरुद्ध रहँदा यहाँको उद्योग–व्यवसायमा नकारात्मक प्रभाव परेको उल्लेख छ । यसैगरी भारतसँग दुई थान रेल खरिद गरेको एक वर्ष बितिसक्दा पनि सेवा सञ्चालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरिएको छ  विज्ञप्तिमा भनिएको छ– ‘नेपाल सरकारले इन्जिन र यात्रुबाहक बोगी खरिद गरेको एक वर्ष बितिसक्दा पनि हालसम्म रेल्वे सञ्चालन नहुनु दुर्भाग्यपूर्ण हो । तसर्थ राष्ट्रको उद्योग, व्यावसाय तथा पर्यटनमा नकारात्मक प्रभाव परिरहेकोले अविलम्ब रेल सञ्चालन गर्न जोडदार माग गर्दछौं ।’

 

प्रतिउत्तरमा मन्त्री यादवले सरकार यथाशिघ्र रेल सञ्चालन गर्ने योजनामा रहेको बताए । उनले भने, ‘आवश्यक कानुन निर्माण तथा अन्य व्यवस्थापन गर्न सरकार आवश्यक गृहकार्यमा जुटेको छ । यथाशिघ्र रेल सञ्चालन हुन्छ । मन्त्री यादवले जनता समाजवादी पार्टी सरकारमा जानुपूर्व रेल सञ्चालन, नागरिकता जस्ता समस्या समाधान गर्न सहमति गरेको जानकारी पनि दिइन् । जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीले रेल सञ्चालन गर्न आवश्यक लिक, स्टेशन, टिकट काउन्टर आदिको निर्माण भइसक्दा पनि सञ्चालनमा नआउनु अचम्मको विषय भएको बताएका थिए । भारत सरकारको सहयोगमा निर्मित रेल संरचना तयारी अवस्थामा रहेपनि नेपाललाई हस्तान्तरण भने हुन सकेको छैन । असोज दोश्रो साता नेपाल र भारतका अधिकारीहरुले संयुक्त रुपमा ती संरचनाहरुको स्थलगत निरीक्षण पनि गरेका थिए ।

 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको नेतृत्वमा ५ सदस्यीय नेपाली टोली तथा भारतीय इरकोन कम्पनीका जेनरल म्यानेजर रवि सहाय नेतृत्वको ५ सदस्यी टोली कुर्था रेल्वे स्टेशनदेखि जयनगरसम्मको स्थलगत निरीक्षण गरेका थिए । भारत सरकारद्वारा निर्मित ट्रेक, भवन, सिग्नल, स्टेशन भवन आदि संरचनाहरुको स्थलगत निरीक्षण पछि आवश्यक पर्ने मर्मत सम्भार गरेर संरचना हस्तान्तरण प्रक्रिया अगाडि बढाइने रेल्वेका महाप्रबन्धक झाले जानकारी दिएका थिए । भारतको काेंकण रेल्वे कार्पोरेशनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको वारेन्टी असोज ३ गतेदेखि सकिएको छ । दुवै सेट इन्जिन एक वर्षदेखि सीमावर्ती इनरुवा रेल्वे स्टेशनमा थन्किइरहेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्