असोज १४ हेटौंडा____ काठमाडौंलाई जोड्ने देशकै गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको काम अझै सुरसार छैन । बर्षेनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरे पनि हालसम्म योजना कार्यान्वयनमा अलमल छ । प्रदेश सरकार बनेको ४ वर्ष अवधि पूरा हुनै लाग्दा सुरुङ मार्ग निर्माणमा ठोस प्रगति हुन नसक्दा प्रदेश सरकारको विकास क्षमतामाथि प्रश्न उठन थालेको छ ।
तात्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको मुख्य चासोको विषय रहेको भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण योजना हालसम्म कागजमै सीमित छ । प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने भनिएको आयोजनामा संघीय सरकारले सहमति नदिँदा अलपत्र भएको हो ।आयोजना निर्माणमा सहकार्य गर्न संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यदल गठन गरे पनि प्रगति भएको छैन् ।
सुरुङमार्ग बनाउन तयारी थालेको ३ वर्ष बितिसक्दा पनि आयोजना सुरु नभएपछि स्थानीबासीले चाँडो आयोजना बनाउन दबाब दिएका छन् । संघीय सरकारसँगको सहलगानीमा २० अर्ब रुपैयामा प्रदेश सरकारले सुरुङ मार्ग निर्माणको योजना अघि सारेको थियो ।