भाद्र ३१ वीरगंज___ वीरगंजमा खाद्य उद्योगी तथा व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजना तथा वीरगंज उद्योग वाणिज्य संघको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खाद्य प्रविधिका प्रमुख विक्की राउतले वीरगंजमा रहेको होटल व्यवसायी लगायत खाद्य प्रविधिसंग आबद्ध संघ संस्थाहरुलाई वर्तमान अवस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए ।
उनले वीरगंजलगायतको क्षेत्रमा धेरै कालो बजारी, अव्यवस्थित बजारीकरण, दूषित खाद्यपदार्थ लगायतको विषयमा प्रकाश पारेका थिए । नेपालीहरूको महान पर्व वडा दशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरी कडाइका साथ अगाडि बढ्ने उनले बताए ।कार्यक्रममा वीरगंज महानगरपालिकाका खाद्य प्रमुख विपिनलाल दासले सहभागीले सोधेका प्रश्नहरूको उत्तर दिएका थिए ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले पर्सा जिल्ला आर्थिक नगरीको रुपमा चिनिने हुनाले यहाँका आमजनतालाई स्वच्छ र शुद्ध खानपानको व्यवस्थापनमा आफूहरुको तर्फबाट कुनै कमीकमजोरी नआउने ढंगले काम गर्ने बताए ।वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले आजको गोष्ठीमा सहभागीबाट आएको सलाह–सुझाबलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सहकार्य गरेर उद्योग वाणिज्य संघले हरसम्भव सहयोग गर्ने बताए ।
किनमेल गर्दा ठगी गर्ने र दशैँको बेला बजार अव्यवस्थित हुने भएकाले यसमा प्रशासन र खासगरी सञ्चारकर्मीको सहयोग लिएर सबै समस्यालाई सम्बोधन गर्ने उनले बताए ।कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, सचिव अरविन्द अमात्यलगायतको उपस्थिति थियो ।